स्वास्थ्य

आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

१५ भदौ, इलाम । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको हो । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि पनि आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने आयुर्वेदिक चिकित्सकको सुझाव छ । जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।

जण्डिसका ‘जडी’ वालकृष्ण

दुई दशकदेखि जण्डिसको उपचार गर्दै आउनुभएका इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका बालकृष्ण सापकोटाले घरायसी जडीबुटी मिलाएर नै औषधि बनाउनुहुन्छ र बिरामीलाई वितरण गरे । जिल्लाका मात्र नभइ अरू जिल्लाका जण्डिसका बिरामीलाई समेत निको पार्ने बालकृष्णलाई २०५१ सालतिर आफ्नै बहिनीको जण्डिस लागेर यहाँ उपचार सम्भव नभएपछि भारतका धेरै अस्पताल धाउनुप¥यो ।

रोग निको नहुने र यही रोगले मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएपछि बालकृष्णलाई अत्यन्तै पीडा भयो । आफू बसेको ठाउँको नजिकका व्यक्तिले बहिनीको उपचार आयुर्वेदिक विधिबाट गर्न उनलाई सल्लाह दियो । उनकै सल्लाहले बालकृष्ण बहिनीलाई लिएर भारतको वङ्गालका एक गुरु कहाँ गए । ती गुरुले दिएको औषधिले बहिनीको शरीरमा सुधार आउन थाल्यो । त्यसपछि बालकृष्णले गुरु समक्ष आफूले पनि जण्डिसको औषधि सिक्न चाहेको बताए । गुरुसँग १५ दिन जडीबुटी बटुल्न र त्यसपछि औषधि बनाउन सिकेको शिक्षाले नै अहिले बालकृष्ण जण्डिसका नाम चलेका वैद्य भएका छन् ।

“आजसम्म एक/दुई जना बाहेक धेरैको जण्डिस रोग निको पारेको छु । घरमा नै उपचार गर्छु” बालकृष्णले भने, “अहिलेसम्म कतिलाई उपचार गरे एकिन तथ्याङ्क त आफूसँग छैन तर दश हजारभन्दा बढी बिरामीलाई निको पारेको छु ।” उनले गाउँकै जङ्गली असोगन्धा, पथ्थरजट्टा, विनाजरी, वन घिरौलालगायतका जडीबुटी मिसाएर औषधि बनाउने गरेको बताए ।

सपनाबाट सिकेर वैद्य बनेका भुजेल
सन्दकपुर गाउँपालिकाकै जमुनाका मानबहादुर भुजेल पनि गाउँका कहलिएका वैद्य छन् । गाउँमा कसैको खुट्टा मर्कियो, भाँचियो वा अरू केही भयो भने भुजेलकैमा पुग्छन् । २०४६ सालदेखि गाउँमा हाडजोर्नी तथा नसाको उपचार गर्दै आएका भुजेल आफूले सपनाबाट उपचार पद्धति सिकेर वैद्य भएको दाबी गरे ।

गाउँका मात्र नभइ झापा, धनकुटा र काठमाडौँदेखिका बिरामीसमेत उपचारका लागि आफू कहाँ आउने गरेको दाबी भुजेलको छ । “धर्म सम्झेर उपचार गर्छु, गाउँमा फोन गरेर बोलाउँदा औषधि लिएर पुग्छु” उनले भने, “औषधिको दाम यति उति भन्दिन । एथाशक्ति रूपमा दिनुभयो भने लिन्छु नभए धर्म सम्झेर फर्किन्छु ।”

तराई÷मधेशमा पाइने हर्रो, बर्रो पथ्थरको बोक्रा, अमलाको बोक्रा र लेकका जडीबुटी सतुवा, भोगटेको बोक्रो कुटेर औषधि बनाउने गरेको उनले बताए । जडीबुटी भनेर हेला गर्नु हुँदैन, अस्पतालले उपचार गर्न नसकेका बिरामीलाई आफूले निको गरेको दाबी भुजेलको छ ।

भारतको सीप नेपालमै खन्याउँदै गरेका वैद्यराज
सूर्योदय नगरपालिकास्थित पशुपतिनगरका कुलबहादुर राईले २०१३ सालमा भारतको कलकत्तामा आयुर्वेदिक शिक्षा शुरु गरे । शुरुमा जटिल लागेको यो विषय सात वर्ष अध्ययन गरेपछि मात्र केही उर्जा थपियो । विशेष गरी महिलामा बाँझोपन, पाठेघरको समस्या, प्रसूति तथा यौन रोगको उपचार गर्नुहुने राईले आफ्नो उपचारबाट अहिलेसम्म धेरै जनालाई निको भएको बताए।

आफै जडीबुटी सङ्कलन गरेर औषधि बनाउने गरेका राईले औषधि तयार पार्न धेरै दुःख झेल्नु परिरहेको बताए । आफूले बनाउने औषधिमा दुर्लभ किसिमको जडीबुटी पर्ने भएकाले यसका लागि कर तिर्नुपर्ने, नापी गर्नुपर्ने र सम्बन्धित कार्यालयबाट स्वीकृति लिएपछि मात्र ल्याउनु पर्नेजस्ता झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । “जटामसी, लेमन ग्रास, खैरको बोक्रा, पाँचऔलेलगायतका जडीबुटी मिसाएर औषधि तयार गर्नुपर्छ । यी औषधि किन्न वन कार्यालयको स्वीकृत चाहिन्छ”, उनले भने, “वन कार्यालयको स्वीकृति लिएर पहिलै निश्चित जग्गा खरीद गर्नुपर्छ र त्यसबाट उत्पादित औषधि लिँदा पनि कर बुझाउनु पर्छ । साहै्र सकस छ ।”

घरेलु तथा साना उद्योग विकास शाखाबाट आफूले प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा आयुर्वेदिक उपचार पद्धति सिकाए पनि पछिल्लो पुस्ताले यसप्रति खासै चासो नदेखाएको राईको भनाइ छ ।

हड्डी रोग निको पार्ने गाउँले गुरु
सूर्योदय नगरपालिकाकै लोकश सुब्बाले पनि लामो समयदेखि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दै आउनुभएको छ । आफ्नै घर छेउमा औषधालय खोलेर हड्डी खिएको र मर्किएको बिरामीलाई उहाँले उपचार गर्दै आउनुभएको छ । “जडीबुटीबाट बनेको मात्र औषधि चलाउँछु । अहिले सम्म ठिक भएन भन्दै कोही आउनुभएको छैन”, उनले भने, “२०६१ सालदेखि पेसागत रूपमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्न थालिएको र यसका लागि ‘सुब्बा आयुर्वेदिक उपचार केन्द्र’ नामक औषाधालय समेत खोलेको छु ।”