गण्डकी प्रदेश

तनहुँको शान्ति उद्यानमा मन्दिर निर्माण

१५ कात्तिक, दमौली । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति उद्यान पार्कमा प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेको शान्ति पार्कभित्र रु दुई करोड ५६ लाखको लागतमा प्यागोडा शैलीको आकर्षक मन्दिर निर्माण सम्पन्न भएको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले मन्दिरको सम्पूर्ण काम सकिएको र बाहिरी भागमा केही निर्माणका काम बाँकी रहेको जानकारी दिए ।
उनको अनुसार मन्दिरको बाहिर घण्टा झुण्ड्याउने पिलरमा ढुङ्गा बिछ्याउन, मन्दिरको साइडमा पर्खाल लगाउन मात्र बाँकी छ । गत फूलपातीकै दिन मन्दिरको उद्घाटन गर्ने गरी कामलाई अगाडि बढाइएको भएता पनि कोभिडका कारण उद्घाटन गर्न नसकिएको रानाले जानकारी दिए । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि गत आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो । व्यास नगरपालिकाले विनियोजन गरेको रु १० लाख र उपभोक्ता समितिको समेत गरी रु १२ लाखको लागतमा पार्कभित्र सार्वजनिक शौचालय, वडा नं ४ मार्फत विनियोजन भएको रु १० लाखको लागतमा ८० मिटर बाटो ढलान र ४० मिटर नाला निर्माण सम्पन्न भएको छ । पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किमीको दूरीमा रहेको यस पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । “अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ, प्रदेश सरकारबाट बजेट विनियोजन भएको खण्डमा माथिसम्म नै बाटो पक्की बनाउने लक्ष्य छ”, रानाले भने । मन्दिरमा गत वर्षको फूलपातीको दिन रु चार लाख ४० हजारको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको थियो । पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजनाअनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्कलाई गुरुयोजनाअनुसार विकास गर्न रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ । करिब ३७ हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुईवटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ । विसं २०६३ भदौ १३ मा सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । आर्थिक वर्ष २०६६÷६७ मा स्थानीय विकास मन्त्रालयमार्फत व्यास नगरपालिकाको जगेडाकोष र स्थानीय उपभोक्ताबाट सहयोग गरी रु ३७ लाख ८३ हजार ५९२ को लागतमा वन क्षेत्रलाई पक्की पिलरसहित काँडे तारवार लगाउने काम भएको थियो । आर्थिक वर्ष २०६७÷६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १७ लाख ६७ हजार ७५० को लागतमा मन्दिरसम्म पुग्ने बाटो र सिँढी निर्माण गरिएको थियो । आर्थिक वर्ष २०६८÷६९ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १९ लाख आठ हजार ७०४ को लागतमा मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङवालको काम भएको थियो भने २०६९÷७० मा प्राप्त रु आठ लाख ७९ हजार ५६८ ले मन्दिरको पानी ट्याङ्कीसम्म पुग्ने पिपिआर पाइप खरिद र गाड्ने काम भएको थियो । त्यस्तै २०७१÷७२ मा प्राप्त रु १२ लाख छ हजार ३७५ को लागतमा मन्दिरको तीनवटा पेटी चारैतिर सिँढी निर्माणका साथै चारवटा मुख्य पिलरसहित जग बसाल्ने काम भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा प्राप्त रु ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत् व्यवस्थापन, मन्दिर ढलान, दुईवटा वनभोजस्थल निर्माणलगायतका काम सम्पन्न भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ३३ लाख १२ हजार ५२२ को लागतमा मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्य सम्पन्न गरी बाटो मर्मत गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार इँटा, मूर्ति खरिदलगायतका काम भएको थियो । गुरु योजना अनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यूटावर, विश्रामस्थललगायतका पूर्वाधार निर्माण हुन बाँकी छ । तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ ।
तनहुँ हाइड्रोका मजदुर पुनः आन्दोलित
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षणपश्चात पोजिटिभ देखिएका मजदूरलाई काममा लगाएको भन्दै मजदूरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् । पोजिटिभ आएका मजदूरलाई आइसोलेसनमा नराखी काममा लगाएपछि विरोध गर्दै आफूहरु आन्दोलनमा उत्रनुपरेको मोती श्रेष्ठले जानकारी दिए । तनहुँभन्दा बाहिरी जिल्लाबाट मजदुर आउँदा सात दिन क्वारेन्टिनमा राखी पिसीआर परीक्षणपश्चात काममा लगाउर्ने पूर्व सहमति पनि उल्लङ्घन भएको श्रेष्ठले आरोप लगाएका छन् । दशैँ मान्न घर गएका मजदूर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदूर दशैँ बिदामा घर गएका बेला पनि चिनियाँ मजदूरले विद्युत्गृह निर्माणको काम सञ्चालनमा राखेका थिए । असोज अन्तिम साता सबै मजदूरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदूरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदूरको पिसीआर परीक्षण गरेपछि काम सञ्चालन भएको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । प्रसारण लाइनका लागि चालू आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।