बाग्मती

आठ खाद्य फार्मका सञ्चालकलाई कारवाही प्रक्रिया

५ चैत, वाग्मती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ ।
ती उद्योगबाट उत्पादित खाद्यान्नको नमूनामा मापदण्डविपरीत (प्रतिकूल)भेटिएकाले खाद्य ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रियामा रहेकामध्ये तीन उद्योगविरुद्ध मुद्दा दायर, चार मुद्दा प्रक्रियामा र एक मुद्दामा सञ्चालकलाई बयान लिएको पाइएको हो । चालु आवको हालसम्म कपदही, चामल र दहीको तीन नमूना परीक्षण गर्दा लेबल अपूर्ण र न्यूनस्तर पाइएकाले मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी सिर्जना महर्जनले जानकारी दिए ।

दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चियाकफी, नुन, खाद्यान्न÷दलहनजन्य, प्रशोधित पिउनेपानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दानालगायतको ६६ नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । सतीमध्ये आठ वटामा प्रतिकूल वा मापदण्डविपरीत देखिएपछि तीन नमूनामा मुद्दा, चार नमूना मुद्दा प्रक्रियामा र एक बयान लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

कार्यालयमा दोस्रो चौमासिकसम्म विभिन्न शीर्षकमा रु तीन लाख ३२ हजार ७५० राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पाँच लाख ४० हजार ७६० राजस्व सङ्कलन भएको र बेरुजु नरहेको कार्यालयले जनाएको छ । कार्यालयले आवश्यकतानुसार कार्यक्षेत्रमा अनुगमन, खाद्य तथा दाना नमूना सङ्कलन तथा विश्लेषण, सूचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिस तथा जारी र नवीकरणका काम गर्दै आएको छ ।

कार्यालयका अनुसार खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नवीकरण, सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम र दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिँदै आएको छ । सो अवधिमा कार्यालयले विभिन्न खाद्य समूहका ३५ अनुज्ञापत्र जारी, ४३ नवीकरण, ११० सिफारिस गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत विसं २०३२ मा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्र परिसरमा यस कार्यालयको स्थापना भएको थियो । क्षेत्रीय कार्यालयहरुको अवधारणाअनुरुप नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत देशका पाँचै विकास क्षेत्रमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण २०६० मङ्सिर ४ को मन्त्रिपरिषद् र २०६० चैत २३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रूपमा नामाकरण भई कार्यसञ्चालन गर्दै आएको थियो ।

तत्कालीन क्षेत्रीय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको कार्यक्षेत्रअन्तर्गत धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी नौ जिल्ला रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरी छ जिल्लामा खाद्य निरीक्षक एकाइसमेत स्थापित भई कार्यसञ्चालनमा रहेका थिए । विसं २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनःसंरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका रूपमा कायम छ ।

कार्यक्षेत्रअनुसार कार्यालयले खाद्य तथा दाना स्वच्छता तथा गुणस्तर नियमन खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारिस, अनुज्ञापत्र जारी तथा निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी तालिम, प्रचारप्रसार, खाद्य तथा दाना उद्योग÷बजार निरीक्षण, नमूना सङ्कलन र कारवाही, होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी उपभोक्ता शिक्षा तथा जनचेतना, खाद्य स्वच्छतासम्बन्धी दिवस, चाडपर्व, मेला लक्षित विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

दुई प्रहरीचौकी भवन निर्माण

मकवानपुरका दुई प्रहरी चौकीको नयाँ भवन निर्माण सम्पन्न भएको छ । मकवानपुरको बकैयास्थित हात्तीसुँढे प्रहरी भवन र राक्सिराङ गाउँपालिका–९ स्थित प्रहरीचौकी भवनको निर्माण पूरा भएको हो । भवन निर्माणपछि वर्षौदेखि जीर्ण भवनमा निकै कष्टका साथ बस्दै आएका प्रहरीलाई अब भने सहज हुने बताइएको छ । जिल्लाका अन्य चार प्रहरी कार्यालयका भवन निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

मकवानपुरको डाँडाखर्क, ठिङ्गन, जिल्ला ट्राफिक प्रहरी र रातोमाटेमा प्रहरीका लागि भवन निर्माण हुँदै गरेको उनले जानकारी दिए । तर अझै छवटा प्रहरीका भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको र भाडाका घरमा कष्टका साथ बस्नुपर्ने बाध्यता रहेको छ ।

हेटौँडाको वडा प्रहरी कार्यालय चौकीटोलमा रहेको प्रहरीचौकी भाडाका घरमा बसेको छ । यसमा निकै कठिनाइ भोग्नुपरेको छ । यसैगरी हेटौँडाको पशुपतिनगर, बसपार्क, भीमफेदी, पालुङ, भैँसेमा रहेको प्रहरीको भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको एसपी राठोरले जानकारी दिए । जीर्ण रहेका प्रहरीका भवनमा निकै कठिनाइका साथ प्रहरीले काम गर्न बाध्य भएका छन् ।

वडाध्यक्षका पारिश्रमिक विद्यालयलाई

हेटौँडास्थित हेटौँडा उपमहानगर–५ का वडाध्यक्ष राजेश बानियाँले आफ्नो सेवा सुविधावापतको रकमबाट केही रकम सामुदायिक विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो वडाभित्रमा रहेको लक्ष्मी आधारभूत विद्यालय र बालज्योति माध्यमिक विद्यालयलाई तत्कालका लागि फागुन महिनाको प्राप्त पारिश्रमिक २८ हजार ७१० प्रदान गरेका हुन् ।

उपमहानगरबाट फागुन महिनाको प्राप्त पारिश्रमिक रकममध्ये बालज्योतिलाई रु २० हजार र लक्ष्मी आधारभूतलाई अरु रु आठ हजार ७१० प्रदान गरिएको वडाध्यक्ष बानियाँले बताए । बालज्योति माविका प्रअ भरतप्रसाद अर्यालले प्राप्त रकम विद्यालयमा रहेका न्यूनदृष्टियुक्त विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, सङ्गीतका सामग्री र शिक्षकमा खर्च गरिने जानकारी दिए । सो विद्यालयमा ७ देखि २१ वर्ष उमेर समूहका १७ जना न्यून दृष्टियुक्त विद्यार्थीलाई अध्यापन गराउँदै आएको प्रअ अर्यालले बताए ।

त्यस्तै, प्राप्त रकम नर्सरी र केजीका विद्यार्थीको शैक्षिक गुणस्तरका लागि खर्च गरिने लक्ष्मी आधारभूत विद्यालयका प्रअ रामहरि मैनालीले बताए । वडाध्यक्ष बानियाँले यसअघि वडाभित्रका ६२ घरपरिवारका सदस्यलाई एक लाख ५६ हजारको स्वास्थ्य बीमा गरिदिएका छन् ।

चुनावी बेलामा सरकारबाट प्राप्त सेवा सामाजिक सेवामा खर्च गरिने भनी प्रतिबद्धता अनुरुप माघ महिनासम्मको रकम विभिन्न सामाजिक सेवामा खर्च गरिएको र फागुन महिनाबाट वडाका दुई सामुदायिक विद्यालयलाई प्रदान गरिने वडाध्यक्ष बानियाँले बताए । उनले आफ्नो स्व बुबा वीरेन्द्रबहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा पशुपतिनगरलाई एम्बुलेन्स खरीद गरी प्रदान गर्ने तयारी गर्नुभएको छ । सङ्घ संस्थालाई मात्र होइन व्यक्तिलाईसमेत वडाध्यक्ष बानियाँ विभिन्न सहयोग गर्दै आएका छन् । उनले व्यक्तिगत खर्चमा बालज्योति विद्यालयलाई भवन निर्माणका लागि १५ लाख सहयोग पनि गरेका छन् ।

मकवानपुर–११ फाइनलमा प्रवेश

हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा साविक विजेता मकवानपुर–११ फाइनलमा प्रवेश गरेको छ ।
शहीद स्मारक ए डिभिजन लिग विजेताले मच्छिन्द्र क्लबलाई ४–३ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ फाइनल प्रवेश गरेको हो । मच्छिन्द्रले शुरुवाती अग्रता लिए पनि हार व्यहोर्न बाध्य भयो । घरेलु टोलीका लागि म्यान अफ द म्याच अमिर श्रेष्ठले २ गोल गरे भने रुपेश केसी र रञ्जन विष्टले १–१ गोल गरे । मच्छिन्द्रका लागि पुजन उपरकोटी, अशोक थापा र राजेश परियारले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अमिर श्रेष्ठ घोषित भए । अमिरले नगद १० हजार प्राप्त गरे ।

म्यान अफ द म्याचको ट्रफी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हस्तान्तरण गरे । दोस्रो सेमिफाइनल खेल आज क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन (अरास) र नेपाल आर्मीबीच खेल हुनेछ ।

चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।