कृषि

चितवनमा दुई हजार ५ सय हेक्टरको धानबालीमा क्षति

२ मंसिर, चितवन । एक महिनाअघि परेको अविरल वर्षाका कारण जिल्लामा दुई हजार ५९१ दशमलब १८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । पूर्वी चितवन र माडीमा बढी क्षति भएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । कार्यालयका अनुसार खैरहनीमा ७२८।०६ हेक्टर, रत्ननगरमा ७०१.३३ हेक्टर, भरतपुर महानगरमा ४१६।६६ हेक्टर, राप्तीमा ३०६.५० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

यस्तै माडीमा २५० हेक्टर, कालिकामा १४८.६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । चितवनमा २७ हजार २८१ हेक्टरमा धानखेती हुँदै आएको छ । गत असोज २९ देखि लगातार चार दिनको झरिले पाकेको धान खेतमै डुबानमा परेको थियो । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी नगरपालिकामा धानबालीमा असर परेको हो ।

उनले समग्र धानबालीमा ९।४९ प्रतिशत नोक्सान भएको बताएका छन् । उन्नत र हाइब्रिडजातका धानबालीमा असर पुगेको छ । उनले भने, “ नौ हजार ७० मेट्रिक टन धान खानै अयोग्य हुने गरी नष्ट भएको छ ।” विगतका वर्षमा जिल्लामा एक लाख ५ हजार ८४१ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । सो वर्षाले अधिकांश धानबालीमा असर परेको छ । आंशिक ढलेको, भिजेको र डुबेको विवरणको एकिन तथ्याङ्क नभएको उनले बताए । उनले भने, “सातवटै स्थानीय तहबाट पूर्ण क्षतिको विवरण लिएर राहतका लागि प्रदेशको मन्त्रालयमा पठाइसकेका छौँ ।

” प्रति क्विन्टल रु दुई हजार ८०० का दरले अनुमान गर्दा करिब रु २५ करोड ४० लाख मूल्य बराबरको नोक्सान भएको योजना अधिकृत अर्यालले जानकारी दिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले क्षतिका आधारमा किसानले राहत पाउने बताएका छन् ।

उनले भने, “सरकारले राहत दिने घोषणा गरिसकेको छ, कार्यविधि आउनसाथ स्थानीय तहमार्फत राहत वितरण हुन्छ ।” क्षतिको वर्गीकरण गरेर राहत वितरण गरिने उनले बताएका छन् । उत्पादन लागतका आधारमा पूर्ण क्षति भएका धानबालीमा १० कट्ठासम्म ६५ प्रतिशत, ११ देखि ४० कट्ठासम्म ३९ प्रतिशत, ४१ कट्ठा बढीमा २० प्रतिशतसम्म राहत दिने सरकारको तयारी छ । यस्तै आंशिक क्षति भएको हकमा उत्पादन लागतको २० प्रतिशत राहत दिने तयारी छ