खेलकुद

सातौँ जुनियर कराँते च्याम्पियनसिप सुरु

३ मंसिर, काठमाडौं । आजदेखि सातौँ जुनियर कराँते च्याम्पियनसिप सुरु भएको छ । नेपाल सितेरियो कराँते सङ्घ र ठमेल डोजोले संयुक्तरुपमा आयोजनामा गरेको च्याम्पियनसिपमा नेपालबाट ४०० र भारतबाट ५५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । खेल आजदेखि राष्ट्रिय टेबुलटेनिस हल लैनचौरमा सुरु भएको हो ।

उक्त खेलको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खेल, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सम्पदा तथा पर्यटन, सामाजिक तथा खेलकूदका क्षेत्रमा प्रशस्त लगानी गरेको बताए । आयोजक कमिटीका अध्यक्ष सन्तोष श्रेष्ठले खेलमा करिब ४०० नेपाली र भारतबाट करिब ५५ खेलाडी सहभागी छन् । खेल उमेर समूह र तौल समूह, केटा र केटी गरी चार समूहमा प्रतिस्पर्धा हुनेछ ।

उमेर समूहमा आठ वर्षदेखि तलका बालबालिकालाई पहिलो समूह बनाइएको छ । त्यसपछि हरेक दुई वर्षको अन्तर बनाएर १८ वर्षसम्मका खेलाडीलाई सहभागी गराइएको छ । यसैगरी तौल समूहतर्फ २० केजीभन्दा कम तौल भएकालाई पहिलो समूह बनाइएको र हरेक पाँच केजीको अन्तरमा ८० केजीसम्मलाई तौल समूहमा वर्गीकरण गरिएको जनाइएको छ । दुईदिने प्रतिस्पर्धा भोलि सकिनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाले रु पाँच लाख आर्थिक अनुदान प्रदान गरेको छ भने खेल्नका लागि आवश्यकपर्ने खेल सामग्री पनि उपलब्ध गराएको थियो ।