खेलकुद

प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने

४ मंसिर, काठमाडौं । झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । नयाँ खेलाडीलाई उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजङ्गा घबडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो । बिर्तामोडमा आज अयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राम दाहालले प्रदेश नं १ मा हालसम्मकै ठूलो धनराशिको प्रतियोगिता हुने जानकारी दिएका छन् ।

“कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको थिएन”, उनले भने, “नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।” प्रतियोगितामा प्रथम हुनेलाई रू तीन लाख, दोस्रोलाई रू दुई लाख, तेस्रोलाई रू एक लाख, चौथोलाई रू ७५ हजार र पाँचौँलाई रू ५० हजार पुरस्कार प्रदान गर्नेछ । प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दामाथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने बताउँदै संयोजक दाहालले भने, “उनीहरुबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिने छन् ।” त्यस्तै प्रतियोगिताअन्तर्गत महिलाको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ । महिला प्रतियोगितामा प्रथमले रू १५ हजार, दोस्रोले रू १० हजार र तृतीयले रू पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रदेश नं १ भरका एक सय पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए ।

उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न रू २० लाख खर्च हुनेछ । नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोहीअनुसार प्रतियोगिताको मिति तय गरिएको अयोजकको भनाइ छ । प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जिम हलले गरेको हो ।