खेलकुद

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


५ चैत, नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ सुरु भएको छ । नगरपालिकाको आयोजना तथा स्थानीय साइनिङ आवासीय माविको संयोजनमा सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ३० वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिता आज उद्घाटन गर्दै संविधानसभा सदस्य कृष्ण पौडेलले नगरभित्र खेलकुदका गतिविधिको उचित विकास हुन नसकेको बताए। सामूहिक प्रयत्नबाट खेलकुदसहित विद्यार्थीको समेत चौतर्फी विकास गर्न सकिने भएकाले विद्यालयको खेलकुदलाई तीन तहकै सरकारले प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।   
नगरप्रमुख छत्रराज पौडेलले निजी विद्यालयले खेलकुदको संयोजन गरेकामा सामुदायिक विद्यालय सहभागी नहुनु दुःखद भएको बताए। नगरपालिकाका तर्फबाट विद्यालय खेलकुदका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाए। 

प्रतियोगितामा भलिबल, फिल्ड एन्ड ट्र्याकका एथलेटिक्स, कबड्डीलगायत खेल समावेश गरिएको कार्यक्रम संयोजक एवं साइनिङ आवासीय माविका प्रिन्सिपल लक्ष्मीप्रसाद दवाडीले बताए। प्रतियोगिताको समापन चैत ७ गते हुने जनाइएको छ ।