८ चैत, काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज दाङ्ग, घोराहीस्थित नं.१९ बाहिनी अड्डा, बझाङ्गस्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी जिल्ला, दिपायलस्थित नं. ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गर्नुभई अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरेका थिए ।
मध्य कमाण्ड हेडक्वार्टर र पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गतका युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले चैत्र ९ गते बाजुरा जिल्लास्थित श्री दुर्गाभञ्जन गुल्मको निरीक्षण भ्रमण र नं. ५ बाहिनी अड्डामा संचालन हुने “भू.पू. सैनिक सम्मेलन(२०७८” को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
साथै, प्रधान सेनापति महारथी शर्माले चैत्र १० गते डोटी जिल्लास्थित रुद्रध्वज गणको निरीक्षण भ्रमण र धनगढीस्थित भवानीदल गणमा संचालन हुने “भू।पू। सैनिक सम्मेलन(२०७८” मा सहभागी हुने कार्यक्रम रहेको छ ।





