खेलकुद

न्यू जेनिथ र ग्रान्डीलाई ऋत कपको उपाधि

२३ असार, काठमाडौँ । न्यू जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन् । न्यु जेनिथ छात्र तथा ग्रान्डी छात्रामा च्याम्पियन बनेका हुन ।

बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा आज भएको छात्र फाइनलमा न्यू जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित ग¥यो । न्यू जेनिथको जितमा सुसन मगरले ७ अङ्क योगदान गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४–१२ ले हराउँदै तेस्रो भयो । छात्राको उपाधि भिडन्तमा समिरा घिसिङको ४ अङ्क सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११–५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८–५ को जित दर्ता गर्दै तेस्रो स्थानमा रह्यो ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः सात हजार, पाँच हजार र तीन हजार ५०० नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सिइओ सिद्धार्थ लामाले जानकारी दिए । ऋतमा विज्ञान, मानविकी, कानुन, व्यवस्थापन र ललित कलाको पढाइ हुन्छ ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुसन र समिरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापा, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, ऋतका को–ओर्डिनेटर खेमनाथ पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने नकआउट प्रतियोगिताको छात्रमा ८४ तथा छात्रामा १६ गरी ९० टिम सहभागी थिए ।