राजनीति

माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने

४ भाद्र, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल छन् ।

यस्तै नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुङ्गाना र जगत् सिम्खडा सदस्य छन्। सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको उपाध्यक्ष महराले जानकारी दिए ।

माओवादीले आगामी सङ्घीय संसद् एवं प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर देशव्यापीरूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यसका लागि यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रम सुरु हुनेछ । आज सम्पन्न स्थायी समितिको बैठकले यही भदौ ८ गते बुधबार मधेस प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सुरु हुनेछ ।

यस्तै भदौ ९ गते बिहीबार गण्डकी प्रदेशमा, १० गते शुक्रबार प्रदेश नं १ मा, ११ गते शनिबार लुम्बिनी प्रदेशमा, १२ गते आइतबार बागमती प्रदेशमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय भएको छ । उपाध्यक्ष महराका अनुसार भदौ १३ गते सोमबार विशेष प्रदेश समिति, १५ गते बुधबार सम्पर्क समन्वय समिति र १६ गते बिहीबार कर्णाली प्रदेश तथा १७ गते शुक्रबार सुदूरपश्चिम प्रदेशमा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

महाविधेशन सम्पन्न भएको आठ महिनापछि पदाधिकारी

माओवादीले आठौँ महाधिवेशन सम्पन्न भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको प्रस्तावलाई सर्वसहमतिले पारित गरेको हो । माओवादी केन्द्रको गत पुसमा महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनले अध्यक्षमात्रै चयन गरेको थियो । आज भएको निर्णयानुसार पदाधिकारीमा एक जनामात्रै महिला प्रतिनिधिका रूपमा उपमहासचिव पम्फा भुसाल छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा नेता महरा चयन हुँदा महासचिवमा गुरुङले जिम्मेवारी पाएका छन् । माओवादीभित्र ‘कान्छाबहादुर’का रुपमा परिचित गुरुङ इमान्दार नेताका रूपमा स्थापित छन् । हाल माओवादीको संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहेका गुरुङ पार्टीभित्र चौथो बरियतामा थिए ।

विशेषगरी महासचिव चयनको विषय सबैभन्दा बढी जटिल बनेको माओवादीका नेताहरूको टिप्पणी रहँदै आएको थियो । उपाध्यक्ष महराका अनुसार विशेष महाविधेशनसम्मका लागि पदाधिकारी चयन भएको र नयाँ परिस्थितिमा नयाँ तरिकाले जाने जानकारी दिए । माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने जनाएको छ । यद्यपि त्यस्तो महाधिवेशन कहिले आयोजना हुन्छ भन्नेबारेमा उनले केही जानकारी दिएनन् ।

उपाध्यक्ष महराले भने, “यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि हो । तत्कालका लागि सन्तुलित र निर्वाचनलाई ध्यान दिएर तय गरिएको हो । विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।” आठौँ महाधिवेशनकै क्रममा विचारको विकास र सङ्ठगनात्मक प्रणाली तय गर्नका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरिएको थियो । यस्तै स्थायी समितिको बैठकले अखिल (क्रान्तिकारी)भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष दाहाललाई नै जिम्मेवारी दिएको छ ।