खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : प्रशिक्षकरप्रशिक्षण सुरुआत

६ भाद्र, कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले आजदेखि प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम सुरुआत गरेको छ । प्रदेशमा यहीँ भदौ ३ गतेदेखि पहिलो चरणको विशेष खेलाडी प्रशिक्षण सुरु भएसँगै विभिन्न खेलका प्रशिक्षक र स्वयंसेवी गरी कास्कीका १९ प्रशिक्षकलाई पहिलो पटक प्रशिक्षण दिन लागिएको हो ।

गण्डकी प्रदेशमा अधिकांश खेलका प्रशिक्षक नभएपछि अहिले परिषद्ले अग्रज खेलाडी र स्वयंसेवकलाई प्रशिक्षणमा लगाएको छ । आगामी एक सातासम्म सञ्चालन हुने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षकरप्रशिक्षण कार्यक्रमलाई दोस्रो र तेस्रो चरण गरी सबै जिल्लाका पु¥याएर प्रशिक्षकलाई तालिम प्रदान गरिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए । 

सहभागीलाई खेलविज्ञ एवं अग्रज प्रशिक्षक सशील नरसिंह राणा लगायतले प्रशिक्षण दिनेछन् । प्रशिक्षकलाई आधारभूत रुपमा आवश्यक पर्ने ‘ट्रेनिङ प्लान’, ‘माइक्रो साइकल’ लगायतका विषयमा प्रशिक्षण दिइने छ । उत्कृष्ट नतिजाका लागि प्रशिक्षकलाई यस प्रकारको तालिम महत्वपूर्ण हुने परिषद्ले जनाएको छ । प्रथम चरणको प्रशिक्षण र छनोट सुरु भए पनि सम्बन्धित खेलका प्रशिक्षकलाई यस्तो प्रशिक्षणले खेलाडीको मनोबल उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

परिषद्को आयोजनामा हाल कास्की, नवलपुर, गोरखा, बागलुङ र स्याङ्जामा पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सञ्चालन भइरहेको छ । सबै जिल्लाका प्रशिक्षकलाई सम्बन्धित जिल्लामा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको र खेल प्रशिक्षण तथा छनोटलाई कुनै बाधा नपुग्ने गरी प्रशिक्षकलाई तालिममा सहभागी गराइएको परिषद्ले जनाएको छ । 

गण्डकीमा पहिलो चरणको खेलाडी प्रशिक्षणपछि दोस्रो चरणमा २२  खेलको जिल्ला छनोट प्रतियोगिता हुने सञ्चालनको कार्यतालिका छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका लागि गण्डकीको टोली तयार हुनेछ । परिषद्का अनुसार जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ र विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ ।

परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ । गण्डकी प्रदेशमा दोस्रो पटक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ संस्करणको राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि वि.सं २०४० मा पोखरामा दोस्रो संस्करण आयोजना गरिएको थियो ।