मनोरञ्जन

‘ऐना झ्यालको पुतली’ : बालापन सम्झाउने हरेक परिवारको कथा

८ भदौ, काठमाडौँ । निर्देशक सुजित बिडारीले प्रदर्शोन्मुख फिल्म ‘ऐना झ्यालको पुतली’ले आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताएका छन् ।
मंगलबार पत्रकारसँगको साक्षात्कारमा निर्देशक बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर तयार गरेको कथानकलाई साथीहरूले ‘मेरो जस्तै’ भने पछि ‘ऐना झ्यालको पुतली’ बनेको उनले सुनाए ।
‘‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छ । फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो,’’ उनले भने, ‘‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’’

भदौ २४ लाई प्रदर्शन मिति तोकेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन् । फिल्ममा सिरु बिष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुन् । निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन् ।
निर्देशक बिडारीले सहरमा हुर्किएका व्यावसायिक कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको बताए । तर उनले नन–एक्टरबाट काम गराउन भने सजिलो अनुभव नरहेको बताए ।
‘‘पहिलो कुरा त नन–एक्टरसँग काम गर्न गाह्रो हुनेरैछ भन्ने थाहा पाएको भए सायद काम गर्दिनथेँ होला’’ बिडारीले ठट्यौली गर्दै सुनाए, ‘‘मेरो फिल्मले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ । गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौँ । उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु ।’’

फिल्म अभिनयको थुप्रै अनुभव संगालेकी सिरु बिष्टले स्क्रिप्ट पढ्नुअघि आफू फिल्म गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेसँगै आफू फिल्म गर्न तयार रहेको अनुभव सुनाइन् ।
‘‘निर्देशकले भन्दा मात्रै म गर्न सक्दिन होला जस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रैछ नी भने जस्तो भयो । त्यसैले मैले नाइँनास्ती गरिन्,’ उनले थपिन् , ‘मलाई घाँस काटेको, दुध दुहेका, गुन्द्री बुनेको, डोको नाम्लो आदि गरेको अनुभव थिएन । यस्ता धेरै कुरा मैले सिकेँ ।’’
उनले ट्रेलरले गाउँले परिवेशमा बनेको दिदी भाइको कथा जस्तो छनक दिए पनि फिल्मले हरेक परिवेशमा रहेका परिवारलाई आफ्नो कथा भनेको आभास हुने जिकिर गरिन् । निर्देशक बिडारीले पनि उनको तर्कमा सही थाप्दै फिल्मले सपना पछ्याउने कुरालाई जोड दिएकाले जुन वर्गका दर्शकले पनि सिनेमामा आफूलाई देख्न सक्ने विश्वास व्यक्त गरे ।
‘‘अलि हुने खाने वर्गका सपना फरक होलान् र गरिबका फरक । तर सपना त सपना हो नी । वस्तु फरक होलान् तर आकांक्षा राख्ने भावना एउटै हुन्छ । फिल्मले हाम्रो यस्तै आकांक्षाको कथा प्रस्तुत गर्छ । त्यसैले यो फिल्म सबै वर्गका लागि हो भन्ने हाम्रो ठम्याइ छ,’’ उनले भने ।
आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मलाई प्रबिन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।
दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । त्योबाहेक फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो । स्वीजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई स्वीजरल्यान्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराए ।
उनले पछिल्लो समय हलमा रिलिज नेपाली फिल्मले अपेक्षित व्यापार गरिरहेको तथ्यसँग आफूहरू परिचित भए पनि आफूहरूले व्यापार भन्दा पनि आफ्नो र आफू अघिको पुस्ताले जीवन जिउन गरेको संघर्षलाई ‘ट्रिब्युट’ गर्न फिल्म प्रदर्शन गर्न लागेको बताए ।