खेलकुद

बीस वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको घोषणा

८ भाद्र, काठमाण्डौ । बीस वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि आज प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही भदौ २५ देखि असोज २ गतेसम्म हुने प्रतियोगिताका लागि प्रशिक्षक केसीले २५ सदस्यीय टोलीको घोषणा गरेका छन् । छनोटमा नेपालसहित कतार, बहराइन, बङ्गलादेश र भुटान रहेका छन् ।

छनोट हुने नेपाली टोलीको गोल–किपरमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख र टोपबहादुर राना छन् । त्यस्तै डिफेन्डरमा अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइवा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल र राज ठोकर छन् ।

टोलीको मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिशरत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सञ्जीव लामा छन् । फरवार्डमा निरञ्जन मल्ल र रोहन खड्गी छन् । उक्त नेपाली टोलीले सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् ।