प्रदेश 2

महोत्तरी क्षेत्र नं ३ : निर्वाचनको माहोल बढ्यो

११ कात्तिक, जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ  । उनले यसअघि वि.सं २०७४ को  निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए । नेपाली कांग्रेस पार्टीमा लामो समय आवद्ध  भएका हुँदा पछिल्लो समय विशेष गरी मधेस केन्द्रित राजनीतिमा लागेका थिए ।

तत्कालीन समयमा उनले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए भने साविकको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेका थिए । आठ बुँदे सम्झौतापछि वि.सं २०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी सर्लाहीबाट पराजित  भएका थिए । 

त्यस्तै २०७० को दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही–४ बाट उनी पराजित भएका थिए । वि.सं २०७४ को निर्वाचनमा उनी महोत्तरी–३ बाट निर्वाचनमा होमिएका थिए भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले १८ हजार एक सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए । २६ हजार आठ सय ४५ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयकुमार चौधरीले आठ हजार छ सय ७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत मात्र ल्याएका थिए ।

उनलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट पूर्व कृषिमन्त्री हरिनारायण यादव र एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरले निर्वाचनमा चुनौती थपेका छन् ।क्षेत्र नं ३ बाटै लोसपा नेपालका अध्यक्ष ठाकुरका  सहयात्री तथा तत्कालीन तमलोपा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका वृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन् ।

महोत्तरी क्षेत्र न ३ मा  ९९ हजार ९३० मतदाता  छन् । स्थानीय तहको परिणामले पनि लोसपाभन्दा जसपा नै बलियो अवस्थामा रहेको देखिन्छ । यस क्षेत्रमा  पाँच वटा स्थानीय तह छन् ।जलेश्वर, मनराशिसवा र मटिहानी नगरपालिका, एकडारा र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ  । विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको छ ।