प्रदेश 2

‘हिंसा अन्त्य आफैँबाट गर्नुपर्छः प्रहरी उपरीक्षक काफ्ले

१५ मङ्सिर, सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले लैङ्गिक हिंसा अन्त्यको सुरुआत आफैँबाट गर्नुपर्ने बताएका छन् । राजविराजस्थित प्राइम होलिक्रम एकेडेमीका विद्यार्थीलाई आज सचेतना कक्षा लिनुहुँदै उनले असल व्यक्तित्व बन्न लैङ्गिकमैत्री व्यवहार अनुसरण गर्नुपर्ने र लैङ्गिक हिंसा अन्त्यको सुरुआत आफैँबाट गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय, इन्सेक, सामुदायिक सेवा केन्द्र, ओसिएसमीलगायत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रहरी उपरीक्षक काफ्लेले अपराध, लैङ्गिक हिंसाको अवस्था, दण्ड सजायको व्यवस्थाका बारेमा जानकारी दिए । विगतको तुलनामा चेतनास्तर बढेको र हिंसाका घटनाको उजुरीसमेत बढेको उनको भनाइ थियो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित ओसिएमसीकी नर्स मनिषा सिम्खडाले कतिपय महिलालाई आफू हिंसामा परे पनि कसरी न्याय पाउँछु भन्नेबारेमा जानकारीसमेत नभएको भन्दै ओसिएमसीले दिने सेवासुविधाबारे जानकारी दिए ।

मूल समारोह समितिले मङ्सिर २५ गतेसम्म राजविराजमा गोष्ठी, अन्तक्र्रिया, रैली, सचेतना कार्यक्रम गरेर १६ दिने अभियान मनाइरहेको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।