विचार/ब्लग

माधव नेपाल बन्ने भए राष्ट्रपति, पाँच बर्षका लागि काँग्रेस हिस्स !

-प्रदिप खड्का

-प्रदिप खड्का
कुनैबेला नाम लिँदा पनि मुखै अपवित्र हुने भन्दै तल्लो स्तरको टिप्पणी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग गोप्य भेटवार्ता गरेको तथ्य बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता गर्ने समय नजिकिदै गर्दा पुर्व सहकर्मी समेत रहेका दुर्इ नेताले अस्ति आइतबार महाराजगन्जमा गोप्य भेटवार्ता गरेको सार्वजनिक भएको हो ।

निर्णायक मतसहित सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने चर्चा चलिरहेको बेला ओली र नेपालबीच भएको भेटले देशको राजनीति अर्कोतिर मोडिएको छ । एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी निर्माण गर्दै कांग्रेस–माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा होमिएको नेपालको पार्टीले सोचे जस्तो मत परिणाम ल्याउन नसके पनि राष्ट्रपति चुनावको लागि महत्वपूर्ण शक्ति बन्न पुगेको छ । तत्कालिन पार्टी अध्यक्ष ओलीको तानाशाही प्रवृति विरुद्द विद्रोह गरेको बताउदै आएका नेपाल ओलीको निम्छरो बोलीको सिकार बन्दै आएको धेरै पटक बताउँदै आएका थिए ।

१५ बर्ष एमालेको महासचिव बनेर पार्टी संचालन गरेका नेपालको नाम नै लिन नचाहने ओली फेरिएको राजनैतिक परिवेशमा आफुलाई निकै कजोर महशुस गर्दै गएपछि आफ्ना पुरानासहकर्मीको साथ खोजिरहेको बुझ्न सकिन्छ । नेपालसंगको पछिल्लो रणनीतिक भेटबाट पुष्टी हुन्छ कि ओली नेपालसँग पार्टी एकता गर्न चाहन्छन् ।

१५ बर्ष एमालेको महासचिव बनेर पार्टी संचालन गरेका नेपालको नाम नै लिन नचाहने ओली फेरिएको राजनैतिक परिवेशमा आफुलाई निकै कजोर महशुस गर्दै गएपछि आफ्ना पुरानासहकर्मीको साथ खोजिरहेको बुझ्न सकिन्छ । नेपालसंगको पछिल्लो रणनीतिक भेटबाट पुष्टी हुन्छ कि ओली नेपालसँग पार्टी एकता गर्न चाहन्छन् । चुनावताका बहुमत मात्र होइन दुई तिहाई ल्याएर देखाउने ओलीको फुर्ति निर्वाचनपछिको परिणामले एकाएक कमजोर बनाइदियो । ओली पार्टीमा फुट आउनुको राजनीतिक गल्ती स्वीकार्दै आफुबाट छुट्टिएर अलग पार्टी निर्माण गरेको एकीकृत समाजवादीसँग हातेमालो गर्न चाहन्छन । देशैभरबाट प्रत्यक्ष निर्वाचनमा जम्मा १० सिट जितेको एकीकृत समाजवादी पार्टीलाई एमालेमा समाहित गराएर आफुलाई ठुलो दलको अध्यक्ष भएको देखाउन चाहने ओलीको महत्वाकांक्षा देखिन्छ ।

केही दिन अघिको ४ घण्टा लामो महाराजगंज भेटवार्तामा राष्ट्रपतिको निर्वाचनमा नेपाललाई अगाडी सार्नेबारे छलफल भएको पुष्टी भईकेको छ । राष्ट्रपति पदको लागि राजनीतिक वृतमा विभिन्न व्यक्तिहरूको नाम चर्चा भैरहँदा पछिल्लो समय नेपालको पनि नाम अगाडी आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगकोे भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले नेपाललाई अगाडी सारेको खण्डमा समस्या हुन सक्ने बताएका थिए ।

हुन त माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठकद्वारा एमालेसँग पुस १०मा भएको सहमतिबाट देशको राजनीति परिस्थिति बदलिएको भन्दै अबको राजनीति नयाँ कोर्सबाट आगाडी बढ्नु पर्ने निर्णय गरेको थियो । सो दलको बैठकले विचार मिल्ने सबैखाले शक्तिसँग हातेमालो गर्दै अगाडी बढ्ने र राष्ट्रपति निर्वाचनको सम्बन्धमा लिनुपर्ने आवाश्यक निर्णय गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई अधिकार दिएको थियो ।

निर्णायक शक्तिको रूपमा रहेको माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय सार्वजनिक भएलगत्तै ओली-नेपालको भेटवार्ताको चाँजोपाँजो मिलेको देखिन्छ । एमालेको उम्मेदवारलाई सहयोग नगर्ने माओवादी केन्द्रको निर्णय सार्वजनिक भएपछि कांग्रेसको भागमा कुनैपनि हालतमा राष्ट्रपति पद नजाओस भन्ने पक्षमा रहेको एमाले कांग्रेस बाहेकका शक्तीबाट उम्मेदवार खोज्ने प्रयत्न गर्दैछ । माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई असहयोग गर्ने देखेपछि ओलीले विकल्पको रूपमा एउटै पार्टीमा काम गरेका पुर्व सहकर्मी माधव नेपाललाई भावी राष्ट्रपतिको रुपमा अघि सार्न सक्ने प्रवल सम्भावना देखेपछि कांग्रेस शसंकित देखिएको छ ।

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा माधव नेपालको कार्ड अगाडी सार्ने देखेपछी हच्किएको कांग्रेस अझैपनि माओवादी केन्द्रले आफ्नो पार्टीले अघि सारेको उम्मेदवारलाई सहयोग गरोस भन्ने पक्षमा छ । यदि नेपाललाई राष्ट्रपतिको उमेद्वारको रूपमा एमालेले अगाडी नसार्ने हो भने माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने प्रष्ट थियो तर एमालेले राजनीति भित्र खेलेको कुटनीतिक चालबाजीले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले माधव कुमार नेपाललाई मत हाल्ने स्पष्ट संकेत मिलिसकेको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर साझा उम्मेदवार उठाउनु पर्ने माओवादी केन्द्रको अडानले फेरिएको राजनैतिक अवस्था अन्ततस् कांग्रेसले सोचेको भन्दा फरक हुने भएको छ । यदि यही अनुसार राजनीतिक कोर्स अघि बढ्ने हो भने कांग्रेसको लागि राष्ट्रपति पद उम्मेद्वार दर्तामा मात्र सीमित होला भन्ने देखिन्छ ।


सत्ता साझेदारी दलहरूको असमझदारीमा भरपुर फाइदा उठाईरहेको कांग्रेस राष्ट्रपति आफ्नो दलबाट हुनुपर्ने र सत्ता समिकरणमा एमालेलाई आउट गर्दै आफु सरकारमा सहभागी हुन चाहेको स्पष्ट देखिन्छ तर पछिल्लो राजनीतिक घटनाक्रम अनुसार राष्ट्रपति निर्वाचनमा कांग्रेस कस्तो रणनीति सहित अगाडी आउने हो त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन । कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा कसलाई अघिसार्ने भन्नेवारे पनि अहिलेसम्म निर्यण लिन सकेको छैन । यद्यपि पार्टी भित्र सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्ने आवाज पनि उठिरहेको छ, तर अर्कोतर्फ बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला सभापति देउवाको आश्वासन पाएदेखि नै राष्ट्रपतिको लागि मुखमीठो पार्दै बसेका छन् ।

पार्टी सभापति नै राष्ट्रपति भएमा उनको राजनीतिबाट सम्मानजनक विदाई हुने पार्टी माहामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक भाषण मै बताएका छन् । सभापतिमा अब १५ महाधिवेशनका पुनः निर्बाचन लड्न पाउने बैधानिक ब्यवस्था नभएकोले राष्ट्रपतिमा पठाए सभापति देउवाको सम्मानजनक बिदाई हुने माहामन्त्री शर्माको तर्क छ ।

कुनै बेला पानी बाराबारको राजनीति गरेका ओली(नेपाल पछिल्लो समय राजनीतिक रूपमा विच्छेद भएको सम्बन्धलाई पुनस्र्मिलनको बाटो खोजिरेका छन्। दुई नेताहरूको टुटेको सम्बन्धनलाई राष्ट्रपति निर्वाचनले पुनस्र्ताजकी गर्ला कि नगर्ला भन्ने प्रश्नको जवाफ केही दिनमा आउने छ । राजनीति भनेको सम्भावनाको खेल हो, यहाँ कोही स्थायी शत्रु र मित्र हुँदैन भन्ने कुराको पुष्टी समेत भएको छ। एकातिर ठूलो पार्टी एमालेको महासचिव भईसकेका माधव कुमार नेकपा एकीकृत समाजबादी जस्तो सानो पार्टीको अध्यक्षमा सीमित छन् भने अर्कोतिर एसको १० सीट जोड्दा एमाले काँग्रेस भन्दा ठूलो पार्टी हुने कारण दुबैको स्वार्थ मिलेपछि एमाले र एस पार्टी एकीकरण सम्म जाने सम्भावनाको ढोका खुल्ने देखिन्छ । माधव कुमार नेपाललाई राष्ट्रपति दिएपछि पार्टी एकीकरण हुने देखेपछि एमाले अध्यक्ष ओलीले शान्त भएर उक्त राजनीतिक निर्णय गर्ने संकेत देखिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि माओवादी केन्द्रका जनप्रतिनिधिहरूको मतभार निर्णायक रहेको छ । उसको मत विना कुनै पनि उम्मेदवार राष्ट्रपतिमा विजयी हुने सम्भावना देखिदैन । काँग्रेस र एमाले मिल्न सक्ने सम्भावना नभएपछि माओबादी केन्द्र हावी भएको हो । सोही कारण नेपालको पक्षमा माओवादी केन्द्रले सहमती जनाउन सक्ने देखेर ओलीले उनिसँग सम्बन्ध सुधारको प्रयास गरेका हुन् । दुई नेताबीच भएको गोप्य भेटमा ओलीले पार्टी एकताको प्रस्ताव राखेको पनि चर्चा चलेको छ । यद्यपि सो भेटघाटको बारे एकीकृत समाजवादीका नेताहरूले औपचारीक रुपमा पुष्टी गरेका छैनन् ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने जनप्रतिनिधिहरू ८८४ जना रहेका छन् । प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० जनाले मतदान गर्न पाउनेछन् । तर काँग्रेस र एमालेको उम्मेद्वार भएमा देशैभरबाट माओवादी केन्द्रको मत नै राष्ट्रपति निर्वाचनको लागि निर्णायक हुनेछ । राष्ट्रपति निर्वाचनले ह्वात्तै तात्तिएको राजनीति यही फागुनको १३ गते उम्मेद्वारको मनोनयन दर्ता पछि केही मत्थर हुने निश्चित छ । माओबादीलाई प्रधानमन्त्रीमा बिश्वासको मत दिएर चिढ्याउन नचाहेको काँग्रेसले राष्ट्रपति निर्बाचन माओबादी केन्द्रले नसघाएमा काँग्रेस माओबादी सम्बन्ध चिसिने निश्चित छ ।