समाचार

राष्ट्रिय सहमतिको राष्ट्रपति हुनसक्छु : राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

१३ फागुन, काठमाडौं । एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले आफ्नो उम्मेदवारीमा राष्ट्रिय सहमति हुनसक्ने बताएका छन् । पार्टी अध्यक्ष सहितको दलबलमा उम्मेदवारी दर्ता गर्न पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफुलाई राष्ट्रिय सहमति जुट्ने बताएका हुन् ।

नेम्वाङले,’हिजो संविधान निर्माण गर्ने समयमा संविधानसभामा रहेका ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको र त्यही संविधानको संरक्षक हुने अवसरका लागि उम्मेदवारी दिएको बताए । उनले भने,’राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ ।’

नेम्वाङको मनोनयन दर्ताको प्रस्तावकमा पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन् । साथै समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा र अमनकुमार मास्के रहेका छन् ।