समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

२६ फागुन, काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् । 

यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुह्येश्वरी मन्दिरमा पूजा गरेका थिए । पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गर्ने तथा सङ्ग्रहालयको अवलोकन गर्ने छन् । उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ ।

पूर्व सभामुख रहेका उनले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते हुने जनाइएको छ ।