पत्रपत्रिका

बालविवाह गरेका ८५ प्रतिशत पछुताउँदै, अधिकांश व्यक्ति शारीरिक र मानसिक पीडामा

३० असार, उदयपुर । उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ ।

महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेकोे खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो ।

अध्ययनका क्रममा देखिएको अवस्था र चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आयोजित यस जिल्लाका सरोकारवालासँगको अन्तरक्रिया सो संस्थाका कार्यकारी निर्देशक वन्दना दनुवारले तथ्याङ्क प्रस्तुत गर्दै ६५ प्रतिशतले १४ देखि १८ र ३५ प्रतिशतले १८ देखि २० वर्ष उमेरमा विवाह गरेको पाइएको जानकारी दिइन् ।

यसरी बालविवाह गरेकामध्ये ८२ प्रतिशत उमेर परिपक्व भएपछि पछुताउने गरेका पाइएको उनले बताइन् । तथ्याङ्क सङ्कलनका क्रममा बालविवाह गर्नेहरूले कलिलो उमेरमै विवाह गर्दा पढइ छुटेको, गृहिणी र पारिवारिक दायित्व वहन गर्नु परेको, छोराछोरीको स्याहारसुसारसँगै खेतीपातीलाई मुख्य पेसा बनाउनु परेको र आफूसँगका साथीसङ्गी विभिन्न तहमा जागिर खादै गरेका तथा व्यापार व्यवसायमा रमाइरहेका देख्दा आफूलाई पछुतो हुने गरेको बताएको दनुवारले जानकारी दिइन् ।

शोधमा समावेश गरिएकामध्ये ५० प्रतिशतले एकै विद्यालयमा अध्ययन गरेको, २९ प्रतिशतले गाउँ छरछिमेक तथा २१ प्रतिशतले सामाजिक सञ्जालमा भेट भएपछि विवाहमा फसेको बताएका छन् । बालविवाह गर्नेसँग लिइएको अन्तर्वार्तामा प्रेम गरेको परिवार र समाजले थाहा पाएपछि छुट्टिनुपर्ने त्रासले उमेर नै नपुगी भागेर विवाह गर्नु परेको बताएका छन् । गोरखापत्रमा समाचार छ ।