अन्तर्राष्ट्रिय

एक लाख आदिवासी आर्मेनियाली पलायन

१३ असोज, एजेन्सी । अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् ।

गत साता उक्त क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट अधिकांश पलायन भएका काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन् ।

अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन् ।

अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन् ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ ।

नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आइतबारसम्ममा त्यहाँ पुग्ने बताइएको छ ।

आर्मेनियाका पूर्वपृथकतावादी नेता आर्टक बेग्लरियानले नागोर्नो–काराबाखका बासिन्दाको अन्तिम समूह शनिबार आर्मेनियातर्फ लागेको बताएका छन् । “अधिकांशमा केही सय व्यक्तिमात्र बाँकी छन्, तीमध्ये अधिकांश अधिकारी आपतकालीन सेवाका कर्मचारी र स्वयंसेवक हुन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक सोमबार नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको भीषण विस्फोटमा कम्तीमा एक सय ७० जनाको मृत्यु भएको थियो । अर्मेनियालीहरूद्वारा स्टेपानाकर्ट भनेर चिनिने खानकेन्डी नजिकै विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।

गत बिहीबार अजरवैजानले नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो ।

नागोर्नो–काराबाखका स्वतन्त्रता पक्षधर आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले सन् २०२४ को जनवरी १ देखि यसको अस्तित्व समाप्त हुने घोषणा गरेका थिए । नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका उनले जनताको सुरक्षाका खातिर त्यो अप्रिय निर्णय गर्नुपरेको स्पष्ट गरेका थिए ।

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि आदिवासी आर्मेनियालीहरूद्वारा नियन्त्रित थियो । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको म्ुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान थियोे ।