समाचार

रवि लामिछाने मलेसियामा, फर्केपछि कतार र बेलायत जाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने मलेसिया भ्रमणमा गएका छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा नेपाल फर्किने छन् ।

आइतबार मलेसियामा केही कार्यक्रममा सरिक भएका सभापति लामिछाने नेपालीहरुसँग अन्तर्क्रिया र भेघाटमा छन् ।

सामाजिक सञ्जालबाट आफू मलेसियामा रहेको जानकारी गराउँदै लामिछानेले लेखेका छन्, ‘मलेसिया, कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्न, उहाँहरूको साथ सहयोग र शुभेच्छाका लागि धन्यवाद दिने कार्यक्रमअन्तर्गत अहिले म मलेसियामा छु ।’

सभापतिको सचिवालयका अनुसार लामिछाने २१ मंसिरमा कतार जाने तय भएको छ । २३ गतेसम्म कतारमा रहने र २४ गतेदेखि २८ गतेसम्म बेलायतमा रहने गरी सभापति लामिछानेको भ्रमण तालिका तय भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । बेलायतबाट सभापति लामिछाने मंसिर २९ गते नेपाल फर्किनेछन् ।

अवसर र रोजगारको लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुखकष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नुपर्ने नेपालीको नियति रहेको र यो परिवर्तन हुनुको सट्टा बढिरहेको सभापति लामिछानेको भनाइ रहेको छ ।

आफू राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि भएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो ।’