समाचार

फारवेष्ट पशुपति कपस्टार सिटी र इलाइट फाइनलमा

१२ पुस, सुदूरपश्चिम । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन् । धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब, बिएस— १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले खेलमा भएका सबै आठ गोल दोस्रो हाफमा बनाएका हुन् ।

स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे । दोस्रो हाफको ११ औँ मिनेटमा आफ्नो टिमका लागि खाता खोलेका कप्तान कुवेरले २१ औँ मिनेटमा दोस्रो तथा २९ औँ मिनेटमा तेस्रो गोलसँगै ह्याट्रिक गरेका हुन ।

स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५औँ र ३२ मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । बिएस—१५ स्पोर्टस् एकेडेमीका लागि विदेशी खेलाडीद्वय गुइलामे डिनले दोस्रो हाफको ४० आँैं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरेका थिए ।

प्रतियोगिताको दोस्रो ह्याट्रिकसहित हालसम्म चार गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका स्टार सिटीका कुवेरसिंहले ‘म्यान अफ द म्याच’ घोषित भई ५ हजारसहित ट्रफी पाएका थिए ।

आजै भएको दोस्रो सेमिफाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको इलाइट युवा क्लबले पनि प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । इलाइटले आयोजक फारवेष्ट पशुपतिलाई ३–० गोलले पराजित गरेको हो ।

इलाइटका लागि विनोद केसी, भूपेन्द्र शाही र योहन्ना चौधरीले एक/एक गोल गरे । पहिलो हाफको १३ औँ मिनेटमा गोल गर्दै विनोदले इलाइटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलले अगाडि रहेको इलाइटले दोस्रो हाफमा गोल थप्यो । दोस्रो हाफको ८ औँ मिनेटमा भूपेन्द्र र ३४ औँ मिनेटमा योहन्नाले गोल गरे । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका इलाइटका भूपेन्द्र शाहीे ‘म्यान अफ द म्याच’ भए । उनले ५ हजारसहित ट्रफी प्राप्त गरे । आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोलीको सहभागिता छ । प्रतियोगितामा विजयी हुने टोलीले ५ लाख र उपविजेताले २ लाख पुस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले२५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही १५ हजार प्राप्त गर्नेछन् ।

महिला खेलाडीलाई तलब

धनगढीमा स्थापित अलस्टार्स स्पोर्ट्स एकेडेमीले आर्थिक अवस्था कमजोर भएका कैलालीका दुई महिला फुटबल खेलाडीलाई वार्षिक तलब दिने भएको छ ।
धनगढीमा आज आयोजित कार्यक्रममा फुटबल खेलाडी विर्सना चौधरी र गोमा रोकायालाई संस्थाका तर्फबाट वार्षिक रुपमा जनही रु ४० हजार तलब दिने गरी सम्झौता गरिएको छ । सम्झौतापत्रमा एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्की र महिला खेलाडीद्वय विर्सना र गोमाले हस्ताक्षर गरेका छन् ।