समाचार

स्थानीय उत्पादन प्रव्रर्द्धनका लागि स्थानीय निकायबीच सहकार्य गरिने

१४ पुस, काठमाडौँ । उपत्यकास्तरीय उपप्रमुख सञ्जालले स्थानीय उत्पादनको प्रवर्द्धनमा स्थानीय निकायबीच सहकार्य गर्ने निर्णय गरेको छ ।

सञ्जालको महाङ्काल गाउँपालिकामा आज बसेको छटठौँ बैठकले स्थानीय निकायबीचको औचित्यता कायम गरी सुमधुर सम्बन्ध स्थापित गर्न स्थानीय उत्पादनको उपभोग, प्रवर्द्धन र बजारीकरणमा काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाले सहकार्य समन्वयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले स्थानीय उत्पादनको सम्भाव्यता बजार र आवश्यकता अनुसारको अन्वेषण आवश्यकताका आधारमा पालिकाले उत्पादित वस्तुको ब्रान्डिङ गर्ने र सञ्जालको सातौँ बैठक चन्दागिरी नगरपालिकाले आयोजना गर्ने निर्णय गरेको छ ।

महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले पालिकाको सम्भावित क्षेत्रको प्रवर्द्धन गर्न सबै निकायको सहयोग तथा साथ आवश्यक रहेको बताए । गाउँपालिकाको उपाध्यक्ष डोल्मा लामाले यस क्षेत्रलाई दूधबाट बनेका परिकारको नमुना क्षेत्र बनाउन आवश्यक रहेको धारणा राखे ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले अन्य पालिकासँग सहकार्य र समन्वय गर्दै आएको स्मरण गर्दै उपत्यकाभित्रका स्थानीय निकायबीच थप सहकार्य र समन्वयन गर्न प्रतिबद्ध रहेको बताए ।

बैठकमा गाँउपालिका–५ का वडाअध्यक्ष भूमिनन्दन घिमिरेले गाँउपालिकामा कृषिको अवस्था, चुनौती र अवसर सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै तरकारी, लोठेसल्ला, बाख्रा लगायतका पकेट क्षेत्रका विकासमा विभिन्न कार्यक्रम सञ्जालन गरेको जानकारी दिए । 

उपत्यकाभित्रको पालिका तर विकासका हिसाबले पछाडि परेको महाङ्काल गाउँपालिकाको कृषि र पशुपालन प्रमुख आयस्रोतको रुपमा रहेको तर बजारीकरणका कारण फष्टाउन नसेका कारण यस क्षेत्रमा उत्पादित कृषि तथा पशुजन्य वस्तुको उपत्यकाभित्र बजारीकरणलाई प्रवद्र्धन गर्न उपत्यकास्तरीय उपप्रमुखले प्रतिवद्धता जनाएका छन् ।

बैठकमा उपत्यकाभित्रका १८ स्थानीय निकायमध्ये १४ वटा स्थानीय निकायको उपस्थित थियो । एक पालिकाको सिकाई, अवस्था बुझी असल अभ्यासको अनुसरण गर्न सञ्जालले आवश्यकताअनुसार उपत्यकास्तरीय बैठक सञ्चालन गर्दै आएको छ ।