समाचार

सेतोपहरा दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

२८ पुस, काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतम रहेका छन् । 

जीपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।