अन्तर्राष्ट्रिय

इजरायल–हमास युद्ध अन्त्य गर्न कुटनीतिक प्रयासका लागि अमेरिकी विदेशमन्त्री ब्लिन्केन मध्यपूर्वतर्फ प्रस्थान

२२ माघ, गाजा पट्टी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गरेका छन् ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

करिब पाँच महिनादेखि जारी युद्धको घेराबन्दीमा परेको क्षेत्रमा विनाशकारी असर परेको भन्दै सहायता समूहहरूले बारम्बार चेतावनी दिएपछि उनले गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्

‘अवस्था अवर्णनीय छ,’ गाजा पट्टीमा रहेको आफ्नो घरबाट भागेर इजिप्टको सिमानामा रहेको दक्षिणी शहर राफामा पुगेका प्यालेस्टाइनी नागरिक हमौदाले भने ।

संयुक्त राष्ट्रसङ्घले ‘निराशाको चरम अवस्था’ को संज्ञा दिएको राफाले अहिले इजरायलको आक्रमणका कारण विस्थापित बनेका गाजाका २४ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई आश्रय दिएको छ ।

“तपाईंसँग १० लाख डलर होस् वा सय, तपाईं एउटै अवस्थामा हुनुहुन्छ,” हमौदाले पैसा भएर पनि अति आवश्यकीय मानवीय सामग्रीको अभावबारे जानकारी दिनुभयो ।

सप्ताहन्तमा इजरायलले हमासलाई उन्मूलन गर्ने अभियानअन्तर्गत राफामा आफ्नो जमीनी सेना अघि बढ्न सक्ने चेतावनी दिँदै सीमावर्ती शहरतर्फ थप दक्षिणतिर दबाब दिएको थियो ।

स्रोतहरूले सोमबार बिहान एएफपीलाई बताएअनुसार उनीहरूले पूर्वी राफा र गाजाको मुख्य शहर खान युनिसका क्षेत्रमा गोलाबारीको आवाज सुनेका थिए ।
इजरायलले खान युनिसबाट नै अक्टोबर ७ को आक्रमणका लागि हमासले योजना बनाएको र हमासका उच्च अधिकारीहरू त्यहाँ लुकेर बसेको दावी गरेको छ ।

हमास शासित क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि सोमबारसम्म इजरायली आक्रमणमा परी महिला र बालबालिकासहित कम्तीमा १२८ जनाको मृत्यु भएको छ । हमासको सरकारी सञ्चार माध्यमका अनुसार गाजाको मध्य भाग र दक्षिणी तटीय क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको छ ।

ब्लिन्केन यस क्षेत्रमा आइपुगेसँगै उहाँले जनवरीमा पेरिसमा भएको अमेरिका, इजरायल, इजिप्ट र कतारी उच्च अधिकारीहरूको बैठकमा प्रस्तावित युद्धविरामबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

हमासप्रति ऐक्यवद्धता जनाउन इरान समर्थित समूहहरूले आक्रमण गर्ने क्रम बढेपछि संयुक्त राज्य अमेरिकाले जवाफी हमला गरिरहेको अवस्थामा कूटनीतिक दबाब थप अत्यावश्यक भएको छ ।

हमाससम्वद्ध स्रोतका अनुसार प्रस्तावित छ हप्ताको युद्धविरामले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्धकहरूलाई मुक्त गर्ने उल्लेख छ । हमासले अहिलेसम्म कुनै सम्झौता नभएको बताएको छ भने केही इजरायली अधिकारीहरूले कुनै पनि ‘कथित सहुलियत’को विरोध गरेका छन् ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाअट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ । लडाकूहरूले लगभग २५० बन्धकहरूलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायलले गरेको छ ।

हमासलाई समाप्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले गाजामा ठूलो सैन्य आक्रमण गरेको र यसबाट कम्तीमा २७ हजार ३६५ जनाको मृत्यु भएको छ जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

गाजावासीले गम्भीर मानवीय अवस्थाको सामना गर्नुपरेको छ र प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले एक्स (ट्वीटर)मा भनेको छ, “निरन्तर बमबारीबीच स्वच्छ पानी र सरसफाइमा निकै कम मात्र पहुँच रहेको छ ।”

गत अक्टोबर ७ मा हमासको आक्रमणमा १२ जना कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि युएनआरडब्ल्यूए आफैं पनि ठूलो विवादमा परेको छ । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा एक दर्जन भन्दा बढी देशहरूले मानवीय सहयोगका लागि काम गर्ने राष्ट्रसङ्घीय उक्त निकायलाई आफ्नो आर्थिक सहयोग रोकेका छन् ।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युएनआरडब्लुएलाई दिइने आर्थिक सहायता स्थगन गर्ने राष्ट्रहरूले गाजाका ११ लाखभन्दा बढी मानिसलाई विनाशकारी भोकमरी र रोगको प्रकोपबाट पीडितलाई महत्वपूर्ण सहायता प्रदान गर्ने संसङ्गठनको अस्तित्वलाई खतरामा पारिरहेको चेतावनी दिएका छन्

संयुक्त राष्ट्रसङ्घले युएनआरडब्लुएको सञ्चालनको अनुगमन गर्ने घोषणा गरेको छ ।
यस क्षेत्रमा प्रस्थान गर्नुअघि ब्लिन्केनले मानवीय सङ्कटबारे आफ्नो ध्यान केन्द्रित हुने बताउनुभउको थियो ।

“गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्ने र मध्यपूर्वमा स्थिरतालाई अगाडि बढाउने हाम्रो प्राथमिकता हो,” ब्लिन्केनले साउदी विदेशमन्त्री फैजल बिन फरहानसँग भने । खाडी राष्ट्रले युद्धअघि नै इजरायलसँग सम्बन्ध स्थापना गर्नेबारे विचार गरिरहेको थियो ।

गत जनवरीमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भएको वार्तापछि ब्लिन्केनले आफूले अझै पनि सामान्यीकरणमा ‘स्पष्ट समस्या’ देखेको बताएका छन् ।