समाचार

खानेपानी पुर्याेउने जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध छ: मन्त्री राई

६ चैत, काठमाडौँ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सबै नेपालीलाई पर्याप्त रुपमा खानेपानी उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रालि र नेदरल्याण्ड्सको विकास सहयोग संस्था (एसएनभी नेपाल) को आयोजनामा सोमबारदेखि राजधानीमा आयोजित ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

मन्त्री राईले यस क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार तयार रहेको बताए । उनले नेपालमा हिमालयबाट उद्गम भएका पानी १२ महिना नदीमा बगिरहे पनि बस्तीबस्तीमा पानीको अभाव रहेको उल्लेख गरे ।

उनले खानेपानीको क्षेत्रमा काम गर्ने नीति निर्माता, प्राविधिक, प्राज्ञ, अनुसन्धानकर्ता, अभ्यासकर्ता र सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिलाई पानीको सङ्कट समाधान गर्न, गरिबी घटाउन र आय बढाउने कार्यमा अग्रसर हुन आग्रह गरे ।

खानेपानी मन्त्रालयलका सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका कारण नेपालले खडेरी र खानेपानीको समस्या भोग्नुपरेकामा वर्षात्को पानी सङ्कलन र व्यवस्थापन अति उपयोगी विकल्प भएको बताए । उनले दिगो विकासको लक्ष्य हासिल गर्न बर्षात्को पानी सङ्कलन र व्यवस्थापनका प्रयासलाई सरकारले सघाउने बचनबद्धता जनाए ।

पूर्वमन्त्री गणेश साहले पानी व्यक्ति, व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य रुपमा पानी उपलब्ध हुनुपर्ने पनि उल्लेख गरे । साथै उनले नेपालका सबै पालिकाका प्रमुखले आफ्ना पालिकाका बासिन्दालाई पर्याप्त पानी पुर्याउन प्रयासरत रहेको बताउँदै त्यस्ता प्रयासलाई वर्षात्को पानी सङ्कलनले सहयोग पुग्ने सुझाव दिए ।

कार्यक्रममा इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष ई. हान्स हाइजनानले नेपालको समग्र विकासको लागि सबै बस्तीमा पर्याप्त पानी आपूर्ति आवश्यक भएको र वर्षात्को पानीको सङ्कलन र व्यवस्थापनले त्यसलाई सघाउने बताए । उनले पानी संयुक्त राष्ट्रसङ्घको दिगो विकासलक्ष्य हासिल गर्न अत्यावश्यक तत्व भएको बताउँदै खानेपानीको लक्ष्यले अन्य लक्ष्य हासिल गर्न पनि उत्तिकै सघाउने धारणा व्यक्त गरे ।

कार्यक्रममा आयोजक संस्था एसएनभीकी नेपाल र भुटानकी देशीय निर्देशक लेनिके ब्रामले नेपालमा वर्षात्को पानी सङ्कलन परम्परागत रुपमा विकसित हुँदै आएको बताए । उनले देशका सबै ठाउँमा पर्याप्त खानेपानीको व्यवस्था गर्न वर्षात्को पानी सङ्कलन र व्यवस्थापन भरपर्दो विकल्प भएको बताए । साथै उनले जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गर्न पनि वर्षात्को पानी सङ्कलन र व्यस्थापन गर्नु अत्यावश्यक भएको उल्लेख गरे ।

सोही अवसरमा इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलाइन्स र नेपाल रेनवाटर हार्भेटिङ एलाइन्सबीच यस क्षेत्रमा सूचनाको आदानप्रदान, आपसी सहयोग र यस अभियानलाई विश्वव्यापी गराउने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ । स्मार्ट वासका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष डा.रामदीप साहले सहभागी, स्रोत व्यक्ति, सहजकर्ता, आयोजक, सहआयोजक, सहयोगदाता, स्वयंसेवक र सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गरेका थिए । समापन समारोहमा सम्मेलनका प्राविधिक समितिका अध्यक्ष एव नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा.सुनिलबाबु श्रेष्ठले प्राविधिक सत्रबारे जानकारी दिँदै छ बुँदे काठमाडौँ घोषणापत्र सुनाएका थिए ।