बैंकिङ

एन आईसी एशिया बैंकद्वारा सप्ताहव्यापी ग्लोबल मनी विक २०२४ सम्पन्न

१६ चैत, काठमाडौँ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् भने, ३० भन्दा धेरै शाखाहरुले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीहरुलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएको बैंकले बताएको छ ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका तथा विद्यार्थीहरुमाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।