समाचार

अधिकारकर्मीहरूले माग : आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी होस्

२९ कात्तिक, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन् ।

सिफारिस समितिले कार्य प्रारम्भ गरे पनि दुवै आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि बढ्न नसकेकोप्रति अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त माग गरेका हुन् ।

अधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाईं, कुन्दन अर्याल, दिनेश त्रिपाठी, राजु चापागाईं र मन्दिरा शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा सो विषयमा समितिको ध्यानाकर्षण गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घन घटनाको छानबिन गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने अत्यन्त गम्भीर दायित्व बहन गर्नुपर्ने आयोग गठनको प्रक्रियामा देखिएको कमीकमजोरीले हामीलाई चिन्तित तुल्याएको छ ।”

विज्ञप्तिमा अपर्याप्त समय, अपूर्ण सूचना र व्यापक प्रचारप्रसारको अभावमा छनोट प्रक्रिया प्रतिस्पर्धी र गुणस्तरीय हुने कुरामा संशय उत्पन्न भएको पनि उनीहरूले उल्लेख गरेका छन् ।