१२ चैत, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।
महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले नगरका सबै विद्यालयमा शैक्षिक सत्र २०७९ देखि लागू गरिएको स्थानीय पाठ्यक्रमको ‘बर्दिबास ज्ञानमाला’ नाउँको पुस्तक एक समारोहबीच विमोचन गरेका हुन् ।
कक्षा–१ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा अब कक्षैपिच्छेको ‘बर्दिबास ज्ञानमाला’ पुस्तक विद्यार्थीलाई उपलब्ध गराइनेछ । अहिले कक्षा ५ सम्मको पुस्तक तयार भएर आएपछि यसअघिको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहिसक्नु भएका पोखरेलले आज विमोचन गरेका हुन् । कक्षा ६ देखि ८ सम्मको ‘बर्दिबास ज्ञानमाला’ पुस्तक नाउँको पुस्तक प्रकाशन क्रममा रहेको नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखाप्रमुख गणेश दाहालले जानकारी दिए।
बर्दिबास नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेर ससाना विद्यार्थीमा आफ्नो ठाउँबारे चासो जगाउने नयाँ काम थालेको पूर्वमन्त्री पोखरेलले बताए । अब आधारभूत तहका छात्रछात्राले ‘बर्दिबास ज्ञानमाला’बाट आफ्नो ठाउँको भूगोल, वेशभूषा, भाषाभाषी, रीतिथिति र स्थानीय सम्भावनाबारे आधारभूत ज्ञान पाउने पोखरेलको भनाइ छ । उनले जिल्लाका अन्य स्थानीय तहले पनि यसको सिको गर्न सके राम्रो हुने बताए । स्थानीय पाठ्यक्रमसँगै प्राथमिक शिक्षा मातृभाषामा दिनसक्ने प्रबन्धको तयारीमा पनि सम्बन्धित स्थानीय तहले पहलकदमी लिनुपर्ने पोखरेलको भनाइ छ । स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिबास अहिलेसम्म जिल्लाको एकमात्र स्थानीय तह हो ।
नगरप्रमुख विदुरकुमार कार्कीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाप्रमुख गणेश दाहालले शैक्षिक सत्रको प्रारम्भमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याइने जानकारी दिए ।
बर्दिबासलाई शैक्षिक केन्द्र (हब) बनाउने नगर नेतृत्वले बताउँदै आएको छ । नगर क्षेत्रमा आधारभूत र माध्यमिक गरी ५५ वटा सामुदायिक विद्यालय छन् । त्यसैगरी कृषि सङ्कायको अध्ययन अध्यापन हुने प्राकृतिक स्रोत साधन कलेज सञ्चालित छ । यसबाहेक शिक्षाशास्त्रमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्ययन हुने बर्दिबास जनता बहुमुखी क्याम्पस एवम् १० भन्दा बढी प्राविधिक विषयको पठनपाठन हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय छ ।
नगर क्षेत्रका सात माविले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा पशुविज्ञान, नापी, कम्प्युटर विज्ञान, फरेष्ट्री, इन्जिनियरिङ र कृषिसम्बन्धी पठनपाठन गराइरहेका छन् । मधेस प्रदेशभित्र बर्दिबासलाई शैक्षिक गन्तव्य बनाउने गरी काम अघि बढाइएको नगर शिक्षा शाखाले जनाएको छ । यसैगरी नगरले पछिल्लो पटक बौद्ध शिक्षा प्रारम्भ गर्ने निर्णय गर्दै गत फागुनमै सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सकेको छ ।
बौद्ध शिक्षा लागू भएपछि बर्दिबासमा स्थापना हुने कलेजमा बौद्ध दर्शनसम्बन्धी ज्ञान, तालिम, खोज एवम् अनुसन्धान गरिनेछ । यो शिक्षाले आम नागरिकमा अष्टाङ्ग ध्यान, सम्यक जीवन र बौद्ध दर्शनका बहुआयामिक पक्षबारे चासो बढाउने त्यहाँका शिक्षाविद् बताउँछन् । सुखद जीवन जिउने कलाबारे बौद्ध दर्शनले सुझाएको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउछन् । त्यहाँ बौद्ध शिक्षाका लागि कलेज स्थापना हुनसके यसबारे सकारात्मक चासो बढ्ने, बौद्ध दर्शनको अध्ययन, अभ्यास, अन्वेषण र यससम्बन्धी सघन छलफल बढाउन सहयोग पुग्नेमा ठकुरी जस्तै त्यहाँका आम बुद्धिजीवी सहमत देखिएका छन् ।





