प्रदेश 2

महोत्तरीमा ६० वर्षे पुरुषको कोरोनाले लियो ज्यान

२९ भदौ, महोत्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।

कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।

उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।