पु.समाचार

कांग्रेसको क्रियाशील सदस्यता निरन्तर वितरण गर्न माग

२२ पौष, काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले पार्टीलाई सशक्त बनाउन अहिलेदेखि नै क्रियाशील सदस्यता निरन्तर वितरण गर्र्नुपर्ने बताएका छन् ।

ईआईसीटी नेपालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिबीच पार्टीको महाधिवेशनअघि गरेको धारणा सर्वेक्षणको दोस्रो चरणको कार्यक्रमअन्तर्गत मंगलबार निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यमाझ गरेको विचार सर्वेक्षण विषयगत समूह छलफलमा नेताहरुले क्रियाशील सदस्यहरु पार्टीका खम्बा भएकाले सदस्यता वितरणमा जोड दिएका हुन् । उनीहरुले महाधिवेशन हुने वर्ष मात्र दिइने क्रियाशील सदस्यता वितरण निरन्तर वितरण गर्ने हो भने कांग्रेसलाई थप उर्जाशील बनाउन सकिने धारणासमेत राखेका छन् ।

नेताहरुले पार्टीको आन्तरिक चुनावमा भएको प्रतिस्पर्धा धेरै नै भएको दृष्टान्त दिँदै आगामी आम निर्वाचनमा पनि यस्तै उर्जासहित जनतामाझ पुग्ने हो भने कांग्रेसको बहुमत सुनिश्चित रहेको दाबी गरे । त्यस्तै महाधिवेशनमा विभिन्न क्लस्टरबाट युवा केन्द्रीय समितिमा निर्वाचित हुँदै गर्दा यसले पार्टी रुपान्तरण अझ बढी सशक्त बनाउने समेत नेताहरुले बताए । उनीहरुले ईआईसीटीले गरेको सर्वेक्षणको प्रशंसा गर्दै अहिलेको जमाना अनुसन्धानमा आधारित तथ्य तथ्याङककै भएको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा सदस्यहरु ईश्वरी न्यौपाने, उदय शम्शेर जबरा, जिपछिरिङ लामा, डा चन्द्रमोहन यादव, सञ्जय गौतम, रमा कोइराला पौडेल, सरिता प्रसाईँ, प्रदीपकुमार सुनारलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस प्रकारका सर्वेक्षणले पार्टीलाई गतिशील एवं समय सापेक्ष बनाउने बताए । “यस प्रकारका सर्वेक्षण नियमित हुनुपर्छ”, उनले भने ।

ईआईसीटीले यसअघि कांग्रेसको १४औँ महाधिवेशनका लागि मुलुकका ७० जिल्लाबाट केन्द्रीय महाधिवेशनका लागि ¥यान्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिलाई सर्वेक्षणमा सहभागी गराइ प्रश्न सोधेको थियो । महाधिवेशन प्रतिनिधिसहित जिल्लादेखि केन्द्रसम्मका निर्वाचित गरी करिब एक हजार दुई सय जनासँग कुराकानी र अन्तरक्रिया गरेर सर्वेक्षण प्रतिवेदन तयार गरी कांग्रेसलाई बुझाइने ईआईसीटीका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईले जानकारी दिए ।