खेलकुद

एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँ : मन्त्री गहतराज


१ चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुती गरेका हुन् । 

यस्तै मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए ।  उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे ।

बैठकमा नेपालको प्रयासको सहभागी राष्ट्रले सराहना गरेका सचिव रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २०२४ सम्मका लागि रणनीति पारित गरेको छ । सचिव रेग्मीका अनुसार, खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थालाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ । नेपाली प्रतिनिधिमण्डलले विश्व एन्टी डोपिङ सङ्घ र क्षेत्रीय एन्टी डोपिङ सङ्घका पदाधिकारीसँग भेट गर्नाका साथै एन्टी डोपिङमा नेपाललाई सहयोग गर्न अनुरोध गरेको थियो ।