समाचार

‘पार्टीमा सद्भाव विकास गर्न आवश्यक छ’ : पूर्वमन्त्री साउद

७ असार, महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने सद्भाव विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ ले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

“पार्टीभित्र सद्भाव विकास गर्न नसके गतिशीलता कायम हुनसक्दैन”, उनले भने, “स्थानीय तहमा भएका मतभिन्नता बिर्सेर एकजुट भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ ।” त्यसैगरी महिला, दलित र जनजातीलाई पार्टीभित्र ल्याएर अगाडि बढाउनुपर्नेमा नेता साउदले जोड दिए । उनले जनजाती र दलित समुदायको हकअधिकार रक्षाका लागि आफूले पहल गर्ने बताए ।

“दलितरजनजातीलाई पार्टीभित्र गोलबन्द गर्न जरुरी छ”, उनले भने, “यहाँका सुकुम्वासी, आरक्ष पीडितको समस्या समाधानका लागि पनि पहल गर्नुछ ।” यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन उक्त कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।