खेलकुद

विश्वकप क्रिकेट लिग दुई : नेपालद्वारा स्कटल्याण्ड पराजित

३० असार, काठमाण्डौ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले एतिहासिक जित हासिल गरेको छ ।

स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक स्कटल्याण्डलाई पाँच विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलो पटक स्कटल्याण्डलाई हराएको हो । यसअघि एकदिवसीय र टी–२० दुवै खेलमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । 

जितका लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जीतमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे । 

यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल चार, दिपेन्द्र सिंह ऐरी तीन तथा आरिफ शेख एक रनमा आउट भए । रोहित पौडेल ३४ रनमा अविजित रहँदा आदील आलम शून्य रनमा अविजित रहे ।

स्कटल्याण्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

स्कटल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी र आदील आलमले उत्कृष्ट बलिङ गरे । सोमपाल र आदीलले समान तीन/तीन विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । त्यस्तै करण केसी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।

यस सिरिजमा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्डको भने यो पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।

यस जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । २२ खेल खेलेको स्कटल्याण्ड भने ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

उक्त सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियासँग शनिबार खेल्नेछ ।