समाचार

भिडियो सेवाले राससको भूमिका अझ बढेर जानेछ : चलचित्र निर्देशक शाह

१५ साउन, काठमाडौँ । नेपाली कलाकारिताका क्षेत्रमा चर्चित नाम हो नीर शाह । कलाकार, निर्माता, निर्देशक नीर शाहले विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान गर्दै आएका छन् ।

करिब छसय चलचित्र र ठूलो सङ्ख्यामा टेलिचलचित्रका लोकप्रिय कलाकारका रुपमा समेत अभिनय निर्वाह गरेका कलाकार शाह नेपाली कला क्षेत्रका उज्वल नक्षेत्र हुन् । उनले ‘प्रेमपिण्ड’, ‘वसन्ती’ लगायत ऐतिहासिक विषयमा दर्शन फिल्म निर्देशन गेका छन् ।

त्यसैगरी नेपालमा टेलिभिजन मिडियाको विकासमा पनि उनको योगदान उत्तिकै महत्वपूर्ण र नेतृत्वदायी रहेको छ । देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धकसमेत रहेका कलाकार शाहसँग राष्ट्रिय समाचार समितिले यसै साउनदेखि सुरु गरेको भिडियो सेवाका बारेमा राससबारे गरेको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ :

तपाईले राससलाई कसरी चिन्नुभएको छ ?

म नेपालमा आमसञ्चार माध्यमको कसरी विकास भयो भनेर खोज्ने मान्छे पनि हो । सामाजिक रुपान्तरणको इतिहासमै नेपालका आमसञ्चार माध्यमको कस्तो किसिमको योगदान रह्यो भन्ने विषयको एउटा विद्यार्थी नै भएँ । जसरी हरेक विद्यार्थीले नेपालका विभिन्न आमसञ्चारका माध्यमका बारेमा चासो राखेका होलान् त्यसरी नै मेरो पनि चासो हुनु स्वभाविकै हो । त्यही क्रममा राससका बारेमा थाहा नहुँदा थुप्रै कुरा थाहा नभएको ठर्हछ । त्यसै क्रममा मैले राससलाई चिनेको हुँ । 

विसं २०१८ मा रासस स्थापना भएको हो । विसं २०४१ देखि नेपाल टेलिभिजनको स्थापनाको घटना परिघटनाको प्रारम्भ भए । त्यतिबेला अन्य सञ्चारका माध्यम सञ्चालनमा थिए, क्रियाशील थिए । रेडियो नेपाल, गोरखापत्र, राइजिङ नेपाल, राससले सरकारका मात्र नभएर जनताका आवाजलाई जनतामा लैजाने काम गरिरहेका थिए । तिनिहरुलाई समेत हाम्रो अभियानमा कसरी जोड्न सकिन्छ, आफ्नो अभियानलाई बलियो बनाउने क्रममा अझ अध्ययन गर्ने आवश्यकता महसुस भयो । थुप्रै कुरा राससका बारेमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो । नेपाली आमसञ्चार क्षेत्रको विकासमा अतुलनीय योगदान गरेको संस्थाका रुपमा मैले राससलाई बुझ्ने गरेको छु । 

बदलिँदो परिवेशमा राससले कस्ताकस्ता विषयवस्तु सम्प्रेषण गर्नुपर्ला ?

सरकारको समाचार दिनका लागि मात्रै रासस स्थापित भएको हो भन्ने मानसिकतालाई समेट्न सक्नुपर्छ । सरकार पनि जनतालाई प्रतिनिधित्व गर्ने एउटा निकाय हो । त्यसैले जहिले पनि प्रमुख केन्द्रबिन्दुमा रहनुपर्ने भनेको जनता नै हो । जनतासँग प्रत्यक्ष–परोक्ष सरोकार राख्ने विषयवस्तुका समाचार बढी सम्प्रेषित हुनुपर्छ । जब जनताले यो मेरो मिडिया हो भन्ठान्छ, त्यसपछि त्यो मिडियालाई कसैले धकेलेर अगाडि बढाउनै पर्दैन, त्यो आफैँ अगाडि जान्छ । सरकारी ओहोदामा रहेका विशिष्ट व्यक्तिले कुनै समारोह भाग लिनुभयो भने मात्रै समाचार बनाउने परिपाटीलाई घटाउनुपर्छ । विशिष्ट व्यक्ति त्यो समारोहमा जाँदा जनतालाई के फाइदा भयो त भन्ने खालका समाचारलाई प्राथमिकता दिनुपर्छ । त्यसले मात्रै आजको समाजमा बढी अर्थ राख्छ होला । 

नेपालमा टेलिभिजन मिडिया भित्र्याउन यहाँको ठूलो योगदान छ । राससले पनि आफ्ना सेवा विविधीकरण गर्ने क्रममा भर्खरै भिडियो सेवा पनि सुरु गरेको छ, योबारेमा के भन्नुहुन्छ ?

राससले ढिलै भए पनि भिडियो सेवा सुरु गरेको छ, त्यसका लागि हार्दिक बधाई दिन चाहन्छु । पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । जुनबेला टेलिभिजन सुरु भयो त्यतिबेला टेलिभिजनसँग नै दृश्य सामग्री बटुल्ने परिस्थिति उपलब्ध हुन सकेको थिएन । झन् राससलाई हुने भन्ने त कुनै भएन । तर पनि राससले आफ्ना भावी कदम त्यसतर्फ चाल्नुपर्छ भन्ने कुराको हामीले वकालत गर्दै आएको हो । मैले पहिला सुझावमा पनि भनेको थिएँ कि भिडियो नभए अडियो सुरु गरौँ पनि भनेको थिएँ । अहिले निजी क्षेत्रबाट पनि भिडियो दिने संस्था स्थापना भएका छन् । यो सन्दर्भमा राससले आफूले दिने विषयवस्तुमा परिमार्जन गर्नुपर्छ । 

अहिले निजी क्षेत्रबाट थुप्रै टेलिभिजन च्यानल आएका छन्  भने अनलाइन र सोसियल मिडियाको सङ्ख्या पनि उत्तिकै बढेको छ । यस्तो अवस्थामा ती मिडियाका लागि उपयोगी हुने खालका सामग्री दिन सकेमा राससको भूमिका अझ बढेर जाने देखिन्छ भने  मिडियाका लागि पनि सुविधा पुग्नेछ । अहिलेका अवस्थामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरी राससले आफूलाई अगाडि बढाउनुपर्छ । राससको भौतिक विकास स्वभाविक विकासक्रम हो । नयाँ भावनाका साथ जनतामा जानुपर्छ ।