समाचार

एमाले केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम

१५ साउन, काठमाण्डौ । नेकपा (एमाले) को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरी किसान संस्कृति मनाएको छ ।

सो अवसरमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरूले टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताए । एमालेको पार्टी कार्यालय च्यासल (ललितपुर)मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सो विभागका प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताए । खीर खाने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायत विभिन्न नेता, संस्कृतिकर्मी, लेखक, कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।