खेलकुद

भलिबल सङ्घको अध्यक्षमा मास्केको उम्मेदवारी

१७ साउन, काठमाण्डौ । नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गरेका छन् ।

 भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै उम्मेदवारी घोषणा गरेका छन् । नेपाल भलिबल सङ्घको केन्द्रीय निर्वाचन भने आगामी भदौ २२ गते काठमाडौँमा हुँदैछ । 

उनले भलिबलको पूर्वाधार विकासदेखि प्रशिक्षण, प्रोत्साहन र प्रशासनिक सुधारको कार्यक्रमलाई अघि सार्ने बताए। त्यसैगरी उनले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टोली निर्माण गर्ने, सोहीअनुसारको कार्यक्रम गर्ने, काठमाडौँसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र सङ्घको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने भनाइ व्यक्त गरे । 

त्यस्तै भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जोड्ने महत्वकाङ्क्षी एजेण्डा रहेको उनले बताए । कार्यसमिति सदस्यका रूपमा १६ वर्षअघि सङ्घमा प्रवेश गरेका उनले एक कार्यकाल कोषाध्यक्षका रूपमा समेत काम गरिसकेका छन् । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो ।