खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिको सचिवालय स्थापना

५ भाद्र, कास्की । नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा उद्घाटन गरे ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताए । सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाई नै प्रतियोगिताभरका लागि मुख्य काम गर्नेस्थल बनाइने उनले बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजलले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकुदलाई सफल बनाइने बताए । राष्ट्रिय खेलकुद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भए पनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताए । उनले भने, “खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदलाई सफल बनाउनु समग्र भूमिका आयोजनास्थल रहेको प्रदेश र स्थानीय सरकारको हुन्छ । त्यसैले गण्डकी सरकार र पोखरा महानगरपालिकासँग मिलेर प्रतियोगिता सम्पन्न गर्ने दृढ सङ्कल्प गरेका छौँ ।”

मन्त्री गहतराजले ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद पोखरा र गण्डकीका लागि महत्वपूर्ण अवसर बन्ने भन्दै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदको महाअभियानलाई सफल बनाउन कार्यकारी समितिको सचिवालयले प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गरे ।

नेपालका लागि विशेष महत्व राख्ने राष्ट्रिय खेलकुद गण्डकीको राजधानी पोखरामा हुनु गौरवको विषय रहेकाले यसलाई सम्पन्न गर्न तीनै तहका सरकारका संयुक्त प्रयत्नबाट काम गर्न सरकार प्रतिबद्ध रहेको बताए। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ४० वर्षपछि हुन लागेको प्रतियोगिता आयोजनाको महत्वपूर्ण अवसर प्राप्त भएकाले खेलकुदका माध्यबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप टेवा पुग्ने बताए।

स्थानीय सरकारले राम्रो हुँदा जस र नराम्रो हुँदा अपजससमेत लिनुपर्ने भएकाले सानोभन्दा सानो कामलाई पनि व्यवस्थित गरी पाहुनाका लागि राम्रो आतिथ्यता प्रदान गरिने प्रतिबद्धता उनले व्यक्त गरे । नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा अहिले तयारीका काम अघि बढाइएको छ । खेलाडी प्रशिक्षण, खेलस्थल अवलोकन निरीक्षण तथा निर्माणाधीन खेल पूर्वाधारलाई सम्पन्न गर्न लागिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।