खेलकुद

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

१ असोज, काठमाण्डौ । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद अन्तर्गत भएको ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको छ ।

बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष पुलिसले २ विकेटको क्षतीमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६.५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबिडब्लु धरापमा परेर आउट भए । यस्तै सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरि दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे । सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १, १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सेनाले निर्धारित ८ ओरमा ७ विकेटको क्षतीमा १०३ रन जोडेको थियो । विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भिम सार्कीले ४ बलमा ११ रन जोडे । पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए । उपबिजयी सेनाले रजत पदक प्राप्त ग¥यो ।
तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनए विचको खेल बर्षाका कारण हुन नसके पछि टसबाट निर्णय गरिएको थियो । जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वाला लगयातले पुरस्कार वितरण गरेका थिए ।