समाचार

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियतको सम्मान होस् : नेता महर

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आकलन गर्नुपर्नेबताएका हुन् ।

“कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ । यसपटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो”, उनले भने , “यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ । यसपटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनु पर्छ ।”

उनले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसद्को सबभन्दा ठूलो दल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न उहाँले पार्टी नेतृत्वलाई आग्रह गरे । “कार्यकारी अधिकार रहेका सबै पद गुमेका छन् । यस्तो अवस्थामा कांग्रेसले मुलुकको हित खोजिरहेको छ । यो उदारताको गठबन्धनमा रहेका दलले सम्मान गर्नुपर्छ”, उनले भने।

नेता महरले स्ववियु मिनी संसद् भएकाले यसको निर्वाचनमा विना गठबन्धन सफलता हात पार्नु नेविसङ्घ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय र क्याम्पसमा अनियमितता बढेको उनको भनाइ थियो ।

“कतिपय क्याम्पसमा दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन एक दशकसम्म पनि हुन सकेको छैन । यसले क्याम्पसमा हुने विकास निर्माणमा अनियमिता भइरहेको छ । विद्यार्थीका हकहितका क्षेत्रमा काम हुन सकेको छैन । पाउनुपर्ने विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । शिक्षाको स्तर दिनानुदिन खस्किँदो छ । ठूलो सङ्ख्यामा सक्षम युवा नेतृत्व निर्माण हुन सकेको छैन”, उनको भनाइ छ ।