समाचार

समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरियो 

१५ फागुन, काठमाडौँ ।नेकपा एमाले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज बसेको सचिवालय बैठकले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

हिजो मात्रै प्रधानमन्त्री दाहालले पराराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि झनै रुष्ट बनेको एमालेले सचिवालय बैठक बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता र सरकार छाड्ने निर्णय गरेको छ। माओवादी केन्द्रले काँग्रेससँग नयाँ समीकरण बनाए पनि राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको एमालेले आज नयाँ निर्णय गर्दै सरकार छोडेको हो । 

बैठकको निर्णय सुनाउँदै अर्थमन्त्री विष्णु पौडेलले भने , “हामीलाई  प्रधानमन्त्रीले सरकारबाट हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौँ । उनले भने,’ हिजो मात्रै परराष्ट्र मन्त्रीलाई अकारण जेनेभा भ्रमणमा रोक लगाउनु भयो,’।

१० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली काँग्रेसलाई समर्थन गरेपछि सत्ता गठबन्धन धरापमा परेको थियो । राष्ट्रपति चयनको विषयमा भएको सहमति माओवादी केन्द्र आफैले तोडेको एमालेको आरोप छ।