राजनीति

माओबादीले अझै ‘भाटेकारवाही’को त्रास देखाउनु सर्वथा उचित होईनः अध्यक्ष थापा

२३ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अझै ‘भाटेकारवाही’को त्रास देखाउनु सर्वथा उचित होईन भनेका छन् ।

अध्यक्ष थापाले फेसबुकमा लेख्दै तत्कालीन नेपाल सरकार र माओवादी बिचको ‘विस्तृत शान्ति सम्झौता’ आफैंमा विवादास्पद दस्तावेज भएको र त्यसबेला कायम रहेको राज्यसत्ताको अंग र द्वन्द्वको महत्वपूर्ण पक्ष राजसंस्थालाई सम्झौता गर्दा कहिँकतै संलग्न गराईएन। तथापि, त्यसैलाई आधार मान्ने हो भने पनि सम्झौताले गंभीर मानवता विरोधी अपराधलाई उन्मुक्ति दिएको छैन भनेका छन् ।
आजमात्र माओबादी निकट आठ दलले संयुक्त बिज्ञप्ती जारी गर्दै सकेसम्म पार्टी एकता गर्ने नत्र माओबादीहरु कार्यगत एकता गरी आफूहरुबिरुद्ध कुनैपनि षढ्यन्त्रको प्रयास भए डटेर लाग्ने निर्णय गरेका छन् ।

कमल थापाको भनाई जस्ताको तस्तैः
तत्कालीन नेपाल सरकार र माओवादी बिचको ‘विस्तृत शान्ति सम्झौता’ आफैंमा विवादास्पद दस्तावेज हो। त्यसबेला कायम रहेको राज्यसत्ताको अंग र द्वन्द्वको महत्वपूर्ण पक्ष राजसंस्थालाई सम्झौता गर्दा कहिँकतै संलग्न गराईएन। तथापि, त्यसैलाई आधार मान्ने हो भने पनि सम्झौताले गंभीर मानवता विरोधी अपराधलाई उन्मुक्ति दिएको छैन।
द्वन्द्वकालमा दुवै पक्षबाट ज्यादति भएको छ। त्यही कारण ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’को व्यवस्था भएको हो। गत १५ वर्षमा ४ पटक माओवादीको नेतृत्वमा सरकार बन्यो, केही अपवाद वाहेक प्रायः सबै सरकारमा माओवादी सहभागी भयो।तर, सत्यनिरुपण गर्ने र अपराधीलाई कठघरामा उभ्याउने काम कसैबाट भएन।
बाँदरमुढे विस्फोट, मुक्ति अधिकारी, गितानीधि रायमाझी, गोपाल गिरी, क्षत्रबहादुर केसी, कृष्णप्रसाद अधिकारी जस्ता माओवादीबाट विनाकारण मारिएकाहरुको सयौँ परिवारले अझै न्याय पाएका छैनन्। माओवादी नेतृत्वले क्षमा याचना समेत गरेको छैन।
राज्यपक्षबाट भएको भनिएको हत्या र वेपत्ता पारिएका माओवादीका परिवारले पनि न्याय पाएका छैनन्। यो अवस्थामा पिडित पक्षले न्यायको लागि अदालत गुहार्नु अन्यथा होईन।
अवसर पाउँदा सत्ता सुखसयलमा रमाउने अनि कसैले न्याय पाउँ भनेर आवाज उठाउँदा आक्रोशित हुने र अझै ‘भाटेकारवाही’को त्रास देखाउनु सर्वथा उचित होईन। सेटिङ र दलहरुको प्रभावमा परेको न्यायालयबाट न्याय पाईन्छ भन्ने विश्वास पनि मर्दै गएको छ।विगतका अनुभवलेले त्यही भन्छ।
अहिले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ। आफैं सरकार,आफै विद्रोही नेता हुनुहुन्छ।साहस देखाउनु होस्। विगतमा भएका मानवता विरोधी अपराधको निम्ति आमजनता र विशेष गरी पिडित परिवारसँग माफी माग्नुहोस्। निष्पक्ष र विश्वसनीय व्यक्तिहरु संलग्न रहेको ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ गठन गर्नुहोस्। द्वन्दकालमा भएका सबै समस्याहरुको स्थायी समाधान गर्नुहोस्। जालझेल नगर्नुहोस्। यो प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निम्ति महत्वपूर्ण अवसर हो। शायद यसपछि मौका नआउन पनि सक्छ।
अन्यथा, बाबुराम भट्टराईले द्वन्द्वको घाउ नउप्काउ भनेर जतिसुकै कराए पनि, यो घाउ बेला बेला बल्झिरहन्छ। मानवता विरोधी अपराधमा मृत्युपछि पनि सजाय भएको र पिडितलाई न्याय र राहत दिएको विश्वमा थुप्रै उदाहरण छन्।