समाचार

जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी

१बैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताएका छन् ।

मुख्यमन्त्री गिरीले दिएका नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको बताएका छन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा परिवर्तनको जगमा मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको उल्लेख गरेका छन् ।

सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ अहिले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि राजधानी व्यवस्थापनको कार्यको थालनी गरिएको बताएका छन् ।

मुख्यमन्त्री गिरीले जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिको बाटोबाट लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि सङ्कल्पित रहेको उनको भनाइ छ ।

यस्तै नयाँ बर्ष २०८० का अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सङ्घीयता कार्यान्वयन गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको प्रदेशसभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले प्रदेशसभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि बढेको अवस्थामा नयाँ सोच र समृद्धिको नयाँ सपनाका साथ अघि बढ्नुपर्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।