प्रदेश 1

कोशी प्रदेशः विश्वासको मतका लागि प्रस्ताव पेस

१४ असार, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।

कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम सो प्रस्ताव पेस गरेका हुन्  ।

प्रस्ताव पेस गर्दै मुख्यमन्त्री कार्कीले गत पुस २५ गते निर्माण भएको वर्तमान सरकार बनेको केही समयपछि नै विश्वासको मत लिनुपर्ने बाध्यता आउनु राष्ट्रिय राजनीतिमा नराम्रो असर पर्ने बताए । उनले मुलुकको आर्थिक स्थितिलाई सुदृढ एवं बलियो बनाउन पनि स्थिर सरकारको आवश्यकता रहेकाले यही सरकारलाई दिगो बनाउन सबै राजनीतिक दलसँग विश्वासको मत मागे ।

मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा बनेको सरकारले ५२औँ दिनकै अवधिमा प्रदेशको नामकरण गर्न सफल भएको उल्लेख गर्दै मुलुकमा असल संस्कृति बसाल्न सरकारलाई विश्वासको मत दिनुपर्ने जिकिर गरे ।

उनले सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत फिर्ता लिएपछि उत्पत्र परिस्थितिमा बाध्य भएर अध्यादेशबाट बजेट ल्याएको जिकिर गर्दै सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत खर्च गर्ने क्षमता बढाएको बताए । उनले प्रदेश कोषलाई कमजोर हुन नदिन विधि र प्रक्रियाबाट योजनाको काम थालनी भएको स्पष्ट पार्दै आफ्नो सरकारले सुशासनको हकमा राम्रो काम गरेको दाबी गरे ।

सो प्रस्ताव निर्णयार्थ अहिलेसम्म पेस भएको छैन । प्रस्तावपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले कोशी प्रदेश सरकारमा विश्वासको वातावरण नदेखिएकाले विश्वासको मत दिन नसकिने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको तर्फबाट अम्बरबहादुर राईले राप्रपा अहिले पनि सरकारमा सहभागी भएकाले सरकारले मागेको विश्वासको मतको पक्षमा रहेको बताए ।

यसैगरी, नेकपा (एमाले) संसदीय दलका तर्फबाट लीलाबल्लभ अधिकारीले सरकारले थोरै समयमा धेरै रचनात्मक कार्य गरेको र अहिलेको विषम परिस्थितिलाई सहज बनाउन, दिगो शान्ति र स्थिर सरकार लागि वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलसँग आग्रह गरे ।

संसदीय दलको तर्फबाट बोल्ने क्रममा जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूलाई सभामुख बाबुराम गौतमले बोल्नका लागि रोष्टममा बोलाउँदा उनले बोल्न अस्वीकार गरे ।

त्यसपछि आधा घण्टाका लागि स्थगन भएको सदन तीन घण्टा बित्न लाग्दा पनि प्रारम्भ भएको छैन । सभा दिउँसो १ बजे सञ्चालन हुने कार्यसूची रहे पनि १ः५० मा प्रारम्भ भएको थियो ।