अन्तर्राष्ट्रिय

कम्बोडियाको विद्यालयभित्र दुई हजारभन्दा बढी विष्फोटक पदार्थ फेला

२८ साउन, एजेन्सी । कम्बोडियाको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयभित्र गृहयुद्धका समय राखिएका दुई हजारभन्दा बढी हतियार फेला परेको अधिकारीहरूले आइतबार बताएका छन् ।

सन् १९६० को दशकमा सुरु भएको क्रूर द्वन्द्व र अमेरिकी बमबारी अभियानको दशकौंपछि पनि यो देश विश्वमै सबैभन्दा बढी विस्फोटक पदार्थ उत्खनन् गरिएको देशमध्ये एक हो ।

कम्बोडियाली माइन एक्सन सेन्टरका महानिर्देशक हेङ रतनाले तीन दिनको अवधिमा क्रेटी प्रान्तको एक उच्च माध्यमिक विद्यालयको प्राङ्गणभित्र एक हजारभन्दा बढी एम-७९ ग्रेनेडसहित दुई हजारभन्दा बढी विस्फोटक पदार्थ फेला परेको जानकारी दिए ।

उनले एएफपीलाई बताएअनुसार विद्यालयले बगैँचा विस्तारका लागि जग्गा खाली गरेपछि विस्फोटक पदार्थको अवशेष फेला परेको हो ।

“विस्फोटक पदार्थ फेला परेपछि विद्यालय अस्थायी रूपमा बन्द गरिएको छ,” हेङ रतनाले भने ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा जमिनमुनिबाट निकालिएका विष्फोटक पदार्थका केही भागहरू पङ्क्तिमा थुपारिएका देखिन्छन् ।

उनले भने, “यो विद्यार्थीहरूको भाग्यमाथिको ठूलो आक्रमण हो । यदि कसैले जमिनमा खाडल पारी राखेर यसमा हिर्कायो भने यी विष्फोटक उपकरणहरू सहजै विस्फोट हुन्छन् ।”

उनले भने, “युद्धको समयमा यो स्थल एक सैन्य स्टेशन थियो, र मैदानबाट थप विस्फोटक पदार्थ उत्खनन् हुने सम्भावना छ ।”

कम्बोडियाको गृहयुद्ध सन् १९७५ सम्म चलेको थियो जसमा संयुक्त राज्य अमेरिका र तत्कालीन उत्तर र दक्षिण भियतनामले दुई पक्षलाई समर्थन गरेका थिए ।

विगत चार दशकमा अमेरिकी बम अभियान र बाँकी रहेका ‘माइनफिल्ड’ हरूको दुःखदप्रभाव लामो समयदेखि महसुस गरिएको छ । यो अवधिमा करिब २० हजार कम्बोडियालीहरू बारूदी सुरङ्ग वा बममा कुल्चेको, खेलाएको वा चलाएको कारण मारिएका छन् ।

सरकारले सन् २०२५ सम्ममा सबै खानी र नफुटेका हतियार सफा गर्ने प्रतिबद्धता जनाएको र आजसम्म पनि उत्खनन् र व्यवस्थापनको काम जारी छ ।