समाचार

बढ्दो वन्यजन्तु आतङ्क

१३ भदौ, काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जङ्गली जनावर बँदेलले बारीका मकैमा क्षति पु¥याएको जनाउँदै निवेदन दिएका छन् । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । “दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा सिफारिस लिन गएका हौँ”, स्थानीय शङ्कर कोइरालाले भने ।

उनका अनुसार दुई रोपनी बारीमा मकै फलाउन रु २० हजार खर्चिएको हो । उनको बारीमा नजिकको इन्द्रेश्वरी थल्पु वन ‘क’बाट केही सङ्ख्यामा बँदेल आई छिप्पिन लागेको मकैमा क्षति पु¥याएका थिए । खोपासीमा केही दिनदेखि बँदेलले बारीका मकै सखाप पारिरहेको छ । वर्षभरि परिवार र गाईवस्तुका लागि बारीमा लगाएको मकै पाक्ने बेलामा बँदेल पसेर विनास गर्न थालेपछि स्थानीयवासी निकै चिन्तित बनेका हुन् ।

अर्का स्थानीय मैया महतले आफ्नो १० रोपनी बारीको मकै वनबाट आएका बँदेलले यही हप्ता विनास गरेको बताउँछन् । उनको बाली बँदेलले विनास गरेको यो पहिलो पटक भने होइन । “प्रक्रिया पुगेका कृषकलाई वन कार्यालयले अधिकतम रु १० हजारसम्म राहत दिन्छ, यसअघि पनि मैले सोही प्रकारको क्षतिपूर्ति लिएको छु”, महतले भने ।

बँदेलले मकैमात्र नभई धान बालीसमेत विनास गर्ने गरेको वन उपभोक्ता समितिका सचिव बालकृष्ण फुयाँलले बताए । यस्तै उनले स्थानीय कृषकका खेतबारीमा पिँडालु, सखरखण्ड, भूईंस्याउ जस्ता नगदेबालीमा क्षति पु¥याउँदै आएको जानकारी दिए । बँदेलको आक्रमणबाट १० नं वडामा बर्सेनि करिब दुई सय रोपनी मकैबारीमा क्षति पुग्ने र ५० देखि ६० परिवारले राहतका लागि वडाबाट सिफारिस लाने गरेको वडाध्यक्ष मोहनबहादुर भण्डारीले बताए । उनको अनुसार क्षतिपूर्तिका लागि वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का, नगरपालिकाको कृषि प्राविधिकको स्थलगत अनुगमन तथा क्षतिको विवरण प्रतिवेदनसहित जिल्ला वन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ ।

यसैगरी छ महिनाअघि चैतमा पनौती नगरकै ५ नं वडास्थित सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥यायो । जङ्गलछेउका खेतमा एक रातमै करिव दुई तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि त्यतिबेला स्थानीय कृषक रातभर खेतमै बस्न बाध्य हुनुपरेको स्थानीय बुद्धिबहादुर थापाले सुनाए । “राति बँदेलको समूहले ठाउँठाउँमा गरी १५ रोपनी जति खेतमा आलु क्षति पु¥याइसकेका थिए, त्यही भएर रातभर पाले बस्नुप¥यो”, उनले भने । उक्त घटनाको केही महिनाअघि गतवर्ष पनौतीकै कुशादेवी क्षेत्रमा समूह समूहमा आएको बाँदरले स्थानीयलाई निकै दुःख दिएका थिए ।

विसं २०७९ असारमा मण्डनदेउपुर नपा–९ स्थित रायोबारीमा चितुवाले एक फार्मका तीन सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अध्याँरोको समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरापालन गरिएको उक्त फार्ममा त्यतिबेला रु आठ लाखको क्षति भएको थियो ।

सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बसेका थिए । स्थानीय दिपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराउने अवस्था आएको छ । “त्यतिबेला अन्नबाली मात्र हैन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपालि पनि त्यही हुने हो कि, मकै पाक्ने बेला हुन लाग्यो”, उनले भने । उनका अनुसार विशेषगरी राति समूह समुहमा आएका बँदेलले फल्न थालेको मकैबाली सखाप पार्ने गर्छन् ।

उक्त नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नम्बर वडाका स्थानीयलाई सामूहिक रुपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो । यन्त्रको प्रयोगपश्चात उक्त क्षेत्रमा बाँदर आउन छाडेको नगरप्रमुख टोकबहादुर वाइवा बताउँछन् । उनले भने, “केही क्षेत्रमा बँदेल, केही क्षेत्रमा बाँदरले कृषकलाई निकै दुःख दिएका छन्, सकेसम्म यन्त्र वितरण गरी नियन्त्रण गर्ने गरिएको छ, क्षतिपूर्तिका लागि माग्न आउने कृषकलाई वडा कार्यालयबाट सिफारिस दिएर पठाउने गरेका छौँ ।”

घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको देखिएको छ । जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।