समाचार

‘बिपीले समय नपाउँदा समाजवादलाई व्यावहारिक रुपमा उतार्न पाउनुभएन’

२५ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको एक सय १०औँ जन्मदिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन-२०८०’को दोस्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरूले विभिन्न धारणा व्यक्त गरेका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बिपीले नपाएको १५ वर्ष’ विषयमा धारणा व्यक्त गरेका हुन् । शर्माले बिपीले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरे पनि राजनीतिक पूर्वग्रहका कारण पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणालाई व्यावहारिक रुपमा उतार्न नपाएको बताए ।

वरिष्ठ अधिवक्तासमेत रहनुभएका विपीन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाएको उल्लेख गरे । अर्थविज्ञ अच्युत वाग्लेले बिपीले समाजवादी अर्थनीति अनुसरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका सङ्केत देखिएको तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।

आर्थिक मितव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बिपीको अवधारणालाई तत्कालीन सरकारले विसं २०१६ मा अभ्यास सुरुआत गरेको उनले बताए । झाले बिपी नेतृत्वको सरकारले समावेशिता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनले नीतिलाई कांग्रेसले आज व्यवहारमा उतार्नुपर्ने खाँचो औँल्याए ।

नेपाली साहित्यका शिखर पुरुष महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मोत्सवको अवसरमा आयोजना गरिएको महोत्सव कांग्रेस केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको हो । तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुँदैछ । महोत्सवको दोस्रो दिन सोमबार ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ भएको थियो, जहाँ ३० जना गजलकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।