समाचार

उपभोक्ता बजार नियमन र अनुगमन गर्न सांसदहरूको माग

२१ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोलेका हुन् ।

त्यस्तै, प्यालेस्टाइनको लडाकू समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योउपचारमा पनि गम्भीर हुन उनीहरुले सरकारको ध्यानाकर्षण गराए । सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको विषय उठाइन ।

सांसद बिनिता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाइन । फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उनको भनाइ छ । सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताएइन । आर्थिक मन्दिका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उनले संसद्मा उठाइन ।

सांसद शान्ति श्रेष्ठले दसैँ, तिहारलगायत चाडबाड मान्न घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरिन । त्यस्तै, धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही र सडकको अवस्था सुधार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन ।

सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइन । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराइन ।

सांसद सूर्यमान तामाङ दोङले चाडपर्वका बेला नागरिक झन् सास्तीमा परेको बताए । ठेकेदारको कमजोरीले देशका विभिन्न स्थानमा सडक अलपत्र परकोे र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउन नसकेको विषय पनि उनले संसद्मा उठाए ।

सांसद शिशिर खनालले इजरायलमा भएको आक्रमण र त्यहाँ रहेको नेपालीको अवस्थाको विषय उठाउदै तत्काल अवस्थाको यकिन जानकारी लिनुपर्ने र उद्धार थाल्नुपर्ने बताए । सांसद हितराज पाण्डेलले पनि इजरायलमा भइरहेको युद्धमा परी घाइते भएका नेपालीको उद्धारमा राज्यले गम्भीरता देखाउनुपर्ने बताए ।

सांसद ज्ञानबहादुर शाहीले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए ।