समाचार

रम्तेललाई थुनामा राख्न आदेश, जीबी राईसहित १८ जनालाई पक्राउ गर्न टास्कफोर्स

२१ असोज, काठमाडौं । जिल्ला अदालत कास्कीले जीबी राईको समूहले संचालन गरेको पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो ।पक्राउ पुर्जी जारी भएका जीबी राई, शिवबहादुर गुरुङसहित १८ जना अझै फरार छन् ।

फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोशाकमा विशेष टास्कफोर्स नै खटाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर, उपत्यका अपराध महशाखा र नेपालभरका प्रहरी युनिटलाई पक्राउ गर्नका लागि सर्कुलर भएको प्रहरीले जनाएको छ ।