समाचार

इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाइ नगर्न दलहरुको सुझाव

२२ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न राजनीतिक दलहरुले सरकारलाई सुझाव दिएका छन् ।

सरकारले इजरायलमा नेपालीहरु मारिने गरी भएको घटनाबारे छलफल गर्न सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि माग गरेका छन् । इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुको जोड छ ।

बैठकमा दलका नेताहरुले सरकारलाई निर्णयहरुलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘दलका नेताहरुले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रशेण गर्न अनुरोध गर्नुभयो,’ परियारले भने ।

“जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न पहल कदमी लिन सरकारलाई अनुरोध भएको छ, मृत्युवरण गरेकाहहरुको शव यथाशक्य छिटो नेपाल झिकाएर परिवारजनलाई बुझाउन पनि सरकारलाई दलहरुले ध्यानाकर्षण गराएका छन्”, प्रमुख सचेतक परियारले अघि भने ।